धम्पुस उदय माविको भवन पहाड ट्रस्टले बनाइदिने

इनेप्लिज २०७२ भदौ १४ गते ७:४१ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । पहाड ट्रस्ट नेपालले कास्कीको पर्यटकीयस्थल धम्पुस गाविस झगरेस्थित उदय माध्यमिक विद्यालयको नयाँ भवन बनाइदिने भएको छ ।

ट्रस्टका नेपाल अध्यक्ष चन्द्रबहादुर गुरुङले बेलायतस्थित सो संस्थामा चार विद्यालय बनाउने प्रस्ताव लानुभएकामा त्यसमा उदय मावि भवन निर्माणको प्रस्ताव स्वीकृत भएको विद्यालयका शिक्षक धनबहादुर क्षेत्रीले राससलाई बताउनुभयो ।

विसं २०१६ सालमा स्थापना भएको सो विद्यालयको २०३९ मा निर्मित जस्ताको छाना भएको भवन जीर्ण भएपछि रु एक करोडको लागतमा नयाँ भवन बनाउन लागिएको हो । हाल विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । ट्रस्ट नेपालले दिने सहयोगमा ३० प्रतिशत स्थानीयवासीले सहयोग जुटाउनुपर्ने प्रावधान छ ।

“तीस प्रतिशत रकम पनि उदय माविका संस्थापक उदयबहादुर गुरुङका छोरा कमल गुरुङले जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएअनुरुप कमलसँगै मच्छिन्द्र गुरुङ सहयोग जुटाउन लाग्नुभएको छ” – सो विद्यालयका शिक्षक धनबहादुर क्षेत्रीले बताउनुभयो । कक्षा, कार्यालय र प्रयोगशालासहितको नयाँ भवनमा बढीमा १२ कोठा रहने बताइएको छ ।

पोखराबाट १८ किलोमिटर टाढा रहेको सो धम्पुसलगायतका क्षेत्र पदयात्रा पर्यटनका लागि प्रसिद्ध छ । पहाड ट्रस्ट नेपालले देशका विभिन्न भागमा सयभन्दा बढी विद्यालय निर्माण गर्न र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको ट्रस्टका प्रशासकीय अधिकृत अरुण लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया