गाउँलेले बनाइदिए प्रहरी चौकी भवन

इनेप्लिज २०७२ भदौ १४ गते ७:३२ मा प्रकाशित

गोरखाबजार १४ भदौ । गोरखाको एघारकिलोका गाउँलेले प्रहरी चौकी भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

रु दुई लाख लगानी गरेर गाउँलेले बनाएको तीनकोठे भवन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेलाई आज हस्तान्तरण गरिएको हो ।

उक्त भवनमा एघारकिलो प्रहरी चौकीको महिला÷पुरुष थुनुवा कक्ष र आवास गृह बनाइएको छ । प्रहरीले गोरखा नगरपालिकाको ९, १० र ११ वडालाई शान्ति सुरक्षा दिन भौतिक संरचनाको अभाव झेल्दै आएको थियो ।

“स्थानीयसँग चन्दा उठाएर प्रहरी चौकी भवन बनाएका हौँ” भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले भन्नुभयो – “थप भौतिक संरचना निर्माणमा पनि गाउँलेको सहयोग रहन्छ ।”

भवन निर्माण गरी सहयोग गरेकामा प्रहरीले गाउँलेलाई धन्यवाद दिएका छन् । तनहुँको आँबुखैरेनीदेखि गोरखाबजार आउने मुख्य राजमार्गको छेउमा एघारकिलोबजार पर्छ ।

प्रतिक्रिया