ठाडो भाकाका शिरोमणिको उपचारमा आर्थिक सहयोग

इनेप्लिज २०७२ भदौ १४ गते ७:३१ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । ठाडो भाकाका गायक एवम् शिरोमणि दीर्घराज अधिकारी ‘भेडीखर्के साइँला’को उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

रुघा, खोकी, दमलगायतका रोगबाट थलिएपछि यही भदौ ४ गते शुक्रबार उहाँलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

पश्चिमाञ्चल विशेषतः गण्डकी अञ्चलमा प्रख्यात गायक साइँलाको उपचारका लागि केमराली डाँडागाउँले समाज लमजुङबाट रु एक लाख ३५ हजार ५२५, बेलायतमा बसोबास गर्दै आएका हरिबहादुर दुरा, ओमराज दुरा र सिंहबहादुर दुराबाट रु ६० हजार, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानबाट रु १५ हजार, लक्ष्मीप्रसाद गुरुङबाट करिब रु १७ हजार, कृष्ण गुरुङबाट रु १० हजार, गायक कृष्ण कँडेलबाट रु दुई हजार ५०० र रेशम दुराबाट रु दुई हजार सहयोग गरिएको छ ।

बयासी वर्षीय अधिकारीले आफ्नो गायन कार्यमा लगातार दुई रात तीन दिनसम्म विभिन्न पर्व सभा समारोहमा गीत गाउनुभएको थियो ।

नेपाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समितिबाट २०६६ सालमा उहाँलाई ठाडोभाका शिरोमणिको उपाधि दिएको थियो ।

प्रतिक्रिया