बन्दले होटल व्यवसायीलाई दुई अर्ब घाटा

इनेप्लिज २०७२ भदौ १४ गते १:५५ मा प्रकाशित

पथरी (मोरङ), १४ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण विराटनगरका होटल व्यवसायीलाई रु दुई अर्ब घाटा भएको छ ।

नेपाल होटल संघ (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार १७ दिनयता होटल सुनसान भएका छन् । बन्दका कारण यातायात नचल्दा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई घाटा लागेको हो । भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् ।

भारतीय पर्यटककै कारण विराटनगरका होटल सधैँजसो खचाखच हुने गरेका थिए । विभिन्न सीमानाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटक शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईंले यातयातका साधन चल्न नपाउदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताउनुभयो । विराटनगरमा ठूला र साना गरेर झन्डै १०० को हाराहारीमा होटल सञ्चालित छन् ।

प्रतिक्रिया