बुटवल (खस्यौली), १३ भदौ । मिर्गौला कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
मकवानपुर हाँडीखोला–७ का २४ वर्षीय ‘विकास’ भनिने प्रेमबहादुर लामा र धादिङ कुमपुर–५ का ३० वर्षीय विष्णु भुजेललाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । लामा बुटवल उपमहानगरपालिका–५ र भुजेल बुटवल–४ मा बस्दै आएका थिए ।
उनीहरु दुवैले रिक्सा चलाउने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई ललाइफकाइ पैसाको प्रलोभन देखाएर भारतको कलकत्ता लगेर मिर्गौला बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरुले आफ्नो पनि मिर्गौला बेचेको र अरुलाई समेत प्रलोभन देखाएर भारत लगेर रु एकदेखि डेढ लाखसम्मका मिर्गौला किन्ने र धरै मूल्य लिएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ खड्काले बताउनुभयो ।
उहाँका अनुसार केही मानिसलाई मिर्गौला बिक्रीका लागि कलकत्ता लैजाने तयारी गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध मानवबेचविखन तथा ओसारपसार मुद्दा दायर गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया