बन्दको आज पन्ध्र दिन पुग्यो, आज पनि जारी बन्दले रक्षाबन्धनमा समस्या

इनेप्लिज २०७२ भदौ १२ गते ३:५१ मा प्रकाशित

Bandaसप्तरी, १२ भदौ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको आज १५आँै दिन पुगेको छ ।

मधेसी मोर्चा सप्तरीले लगातार १५ दिनदेखि बन्द जारी राखेपछि बन्दका कारण यहाँको जनजीवनमा निकै प्रभाव पर्नुका साथै आज रक्षाबन्धनमा समेत यातायातको साधन नचल्दा समस्या भएको छ ।

मैथली समुदायमा मनाउने भाइबहिनीको पर्व रक्षाबन्धन पर्व आजको दिन एक भाइले आफ्नो बहिनीसँग राखी बाध्ने जस्तो महत्वपूर्ण चलनमा बन्दले यातायात नचल्दा धेरै भाइले आफ्नो बहिनीसँग राखी बाध्नबाट वञ्चित भएको बताइएको छ ।

सप्तरीमा आज पनि बिहानैदेखि यातायात बन्द भएका कारण कुनै पनि साधन नचलेकाले धेरै महिलाले एक ठाउँबाट अर्को ठाउँमा रहेको भाइसम्म पुग्न सकेका छैनन् भाइ पनि यातायात बन्दका कारण आफ्नो बहिनीसम्म रक्षाबन्धन जस्तो महत्वपूर्ण पर्वमा यस वर्ष राखी बन्धनबाट वञ्चित भएको राजविराज–४ का श्याम रजकले गुनासो गर्नुभयो ।

हिन्दूधर्मावलम्बीको महान् पर्वमध्य आज श्रावण शुक्ल पूर्णिमाको जनैपूर्णिमा तथा रक्षाबन्धन परेकाले हर्षोल्लासका साथ नेपाली लामो समयका बन्दका कारण मनाउनमा समेत समस्या भएको बृद्धिजीवी बताउँछन् ।

त्यस्तै मोर्चाको कार्यकर्ताले आज पनि बिहानैदेखि सदरमुकाम राजविराजमा कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् । बन्दका कारण यहाँको बजार, पसल, उद्योग व्यापार, शैक्षिक सङ्घसंस्थालगायत सबै बन्द रहेको छ भने यातायातसमेत ठप्प रहेको बताइएको छ ।

सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादीदलले तीन हप्तादेखि लगाताररुपमा सप्तरीसहित तराईको जिल्लामा बन्द जारी राखेका कारण यहाँको जनजीवन अस्तव्यस्त हुँदै गइरहेको बताइएको छ ।

प्रतिक्रिया