निर्माण हुन लागेको नौ वर्ष पुग्यो तर बिजुली बलेन

इनेप्लिज २०७२ भदौ १२ गते ३:५० मा प्रकाशित

timthumb.phpजाजरकोट, ११ भदौ । जिल्लाको अर्छानी गाविस– ९ तम्तीमा बिजुलीको आयोजना निर्माण सुरु भएको नौ वर्ष पुग्यो ।

गाउँमा बिजुली बल्ने आशामा अर्छानी गाविसका ३५५ घर परिवारले दिन गन्न थालेको नौ वर्ष बितेपनि अहिलेसम्म बिजुली बल्ले कुनै सुरसार छैन ।

उक्त गाविसमा निर्माण हुन लागेको ३५.५० किलोवाट क्षमताको तिलिङ्गे खोला लघुजलविद्युत् आयोजना बन्दै नबनी अलपत्र परेपछि स्थानीयलाई अब बन्छ भन्नेमा शङ्का लागेको छ ।

निर्माणको जिम्मा लिएका सरोकारवाला आर्थिक अभावले आयोजना बन्न नसकेको बताउँछन् । आयोजनाका अध्यक्ष रणबहादुर शाही भौगोलिक विकटता र आवश्यक बजेटको अभावमा आयोजना निर्माणमा समस्या परेको बताउनुहुन्छ ।

उहाँले स्थानीयले श्रमदान नगर्दा विद्युत् बल्न नसकेको बताउनुभयो । अर्छानीे गाविसका ७, ८ र ९ मा बिजुली बत्ती बाल्ने गरी आयोजना सुरु गरिएको तर आवश्यक स्रोत नजुट्दा समस्या परेको शाहीको भनाइ छ ।

विसं २०६३ बाट निर्माण कार्य सुरु गरिएको योजना बन्न नसकेपछि महँगा उपकरणजन्य सामग्री खोला र खेतको आलीमा खिया लागेर बिग्रने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

आयोजनाको कुल लागत रु दुई करोड ६६ लाख रहेको छ । आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जाको रु एक करोड १० लाख ६२ हजार, जिल्ला विकास समितिको रु तीन लाख ७८ हजार र गाविसको रु दुई लाख २० हजार बजेट प्राप्त भइसकेको आयोजनाको उपभोक्ता समितिले जनाएको छ ।

रु एक करोड ७४ लाख सामान खरिदका लागि कम्पनीलाई दिएको रु आठ लाख ६५ हजार हेलिकप्टरबाट सामान ढुवानी गरेको र रु दुई लाख ४० हजार गाडीबाट सामान ढुवानी गरेको जानकारी समितिका अध्यक्ष शाहीले दिनुभयो ।

विभिन्न स्रोत र निकायबाट प्राप्त रकम सामग्री खरिद र ढुवानीमा सकिएपछि समस्या परेको उहाँको भनाइ छ । आयोजनाको काम लामो समयसम्म पूरा नहुँदा सामान विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

आयोजनाका लागि रु ५० लाख अपुग रहेको भन्दै अध्यक्ष शाहीले जिविसको रु ३३ लाख र गाविसको रु २४ लाख अहिलेसम्म पाउन नसकिएको बताउनुभयो ।

प्रतिक्रिया