सत्यतथ्य जाँचेरमात्र समाचार लेख्न नेता देउवाको आग्रह

इनेप्लिज २०७२ भदौ ११ गते ११:०५ मा प्रकाशित

Rss_Images_1440759414590_BO-Ktm-press unionकाठमाडौँ, ११ भदौ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो बारेमा केही सञ्चारमाध्यमले अनर्गल समाचार प्रकाशन गरेकोप्रति आपत्ति जनाउँदै सञ्चारकर्मीलाई सत्यतथ्य जाँचेरमात्र समाचार लेख्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको व्यवस्थापन र नेपालको राष्ट्रिय निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रममा नेता देउवाले सो कुरा बताउनुभएको हो ।

आफूले नबोलेको कुरा केही सञ्चारमाध्यमले लेखेकोमा आक्रोश पोख्दै नेता देउवाले भन्नुभयो – “सत्यतथ्य जाँचेरमात्र समाचार लेख्नुस् ।” उहाँले आफू र आफ्नो पार्टी सदैव स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताउनुभयो ।

आफ्नो बारेमा ‘थारु विरोधी भएको’ समाचार प्रकाशन भएको सम्बन्धमा नेता देउवाले बँधुवा मजदुरका रुपमा रहेका थारु समुदायको उत्थानका लागि आफूले कमैया मुक्तिको घोषणा गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “म सदैव थारु आन्दोलनमा लागेको मान्छे हुँ, म कसरी थारु विरोधी हुन सक्छु ?”

सोमबार कैलालीको टीकापुरमा घटेको घटना बाहिरबाट गएका मानिसले भड्काएर तथा उक्साएर भएको बताउँदै उहाँले भन्नुभयो – “खुँडा, खुकुरी, भाला, बन्चरो निकालेर र आगो लगाएर मार्न उक्साउने ती मानिस नेपाली हुन सक्दैनन् ।”

“सुदूरपश्चिममा सबै (थारु र पहाडी) समुदाय वर्षांैदेखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए” उहाँले भन्नुभयो – “यताबाट गएका केही व्यक्तिले सुनियोजित रुपमा सम्प्रदाय भड्काउने काम गरे, यति ठूलो मानवाधिकार हनन् हुँदा कहाँ थियो सञ्चारमाध्यम ?” – उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राष्ट्र निर्माणमा नेपाली प्रेसको भूमिका सकारात्मक रहेको बताउँदै सुधार गर्नुपर्ने अझै धेरै ठाउँ रहेको बताउनुभयो ।

नेपाली मिडियामा सन्तुष्टि लिने ठाउँ धेरै रहेको बताउँदै मन्त्री रिजालले पत्रकारितामा अङ्कुश लाग्न थाल्यो भन्ने त्रासदी फैलाउने कुरा आजको यथार्थ पृष्ठभूमिमा आधारित नभएको जानकारी गराउनुभयो । काँग्रेसका सञ्चार विभाग प्रमुखसमेत रहनुभएका मन्त्री रिजालले जुनसुकै सत्तामा बसेका मानिसले पनि प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन नसक्ने स्पष्ट पार्नुभयो ।

सञ्चारमाध्यम कुन हो, कुन होइन भन्ने परिभाषा सामान्य नागरिकले भन्दा सञ्चारकर्मीले अलि बढी खोजी गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – “छापिने सबै पत्रिका हो, कम्प्युटर, ल्याप्टप तथा मोबाइलमा देखिने सबै अनलाइन मिडिया हो भन्नुभयो भने अभिव्यक्तिको स्वतन्त्रता जोगिँदैन ।”

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले नेपाली सञ्चारमाध्यमले सुशासनका क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको अवगत गराउँदै अझै थुप्रै काम गर्नुपर्ने ठाउँ रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका अध्यक्ष बद्री सिग्देल, एफइएस नेपालका प्रमुख देवराज दाहाल, युनियनका उपाध्यक्षद्वय दीपक आचार्य र ईश्वरी ओझाले नेपाली सञ्चारमाध्यमले राष्ट्र निर्माणमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकारद्वय डा सुरेश आचार्य र हरिबहादुर थापाले ‘भूकम्पपछिको व्यवस्थापन र नेपालको राष्ट्रिय निर्माणमा सञ्चारमाध्यमको भूमिका’ मा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया