नुवाकोटमा पहिरोमा परी मृत्यु हुनेहरुको सनाखत

इनेप्लिज २०७२ भदौ ११ गते ११:०० मा प्रकाशित

नुवाकोट, ११ भदौ । नुवाकोटमा गएरातिको पहिरोमा परी मृत्यु हुनेहरुको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

मृत्यु हुनेमा गोस्र्याङ गाविस वडा नं २ का सोमबहादुर तामाङ, उहाँकी श्रीमती सुकुमाया तामाङ, फुर्कुमाया तामाङ, केशवबहादुर तामाङ र पूर्णबहादुर तामाङ रहनुभएको छ । मृतकमध्ये पूर्णबहादुर तामाङको शव अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभएको छ । मृत्यु भएकामध्ये केशवबहादुर तामाङ र पूर्णबहादुर तामाङ बालक रहेको प्रहरीले जनाएको छ ।

यस्तै, सामरी गाविस वडा नं ७ मा पहिरोले घर पुरिएर मृत्यु हुनेमा ८० वर्षीया टेककुमारी थापामगर रहनुभएको प्रहरीले जनाएको छ ।

गोस्र्याङ पहिरोमा परी घाइते हुनेहरुमा अनिता तामाङ, सञ्जु तामाङ, सुन्दरीबहादुर तामाङ, अशोक तामाङ, मनिषा तामाङ र सुमन तामाङ रहनुभएको छ । उहाँहरुलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।

प्रतिक्रिया