भक्तपुर, ११ भदौ । आफूहरुले राखेकोे मागको बेवास्ता गरेको भन्दै सानोठिमी शिक्षा क्याम्पसका चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् ।
अनेरास्ववियु, नेवि सङ्घ, अखिल क्रान्तिकारी (एकीकृत) र अखिल क्रान्तिकारी (विप्लव समूह)का विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुख नरप्रसाद थापाको राजीनामाको माग गर्दै तालाबन्दी गरेको अनेरास्ववियुका सानोठिमी क्याम्पस इन्चार्ज लालबहादुर रोकायले जानकारी दिनुभयो ।
विसं २०७२ साउन २ गते संयुक्त विद्यार्थीका तर्फबाट पेस गरेको २२ बुँदे मागको कुनै सुनुवाइ नभएपछि आज विद्यार्थीले कालो ब्यानर टाँसेर तालाबन्दी गरेका हुन् ।
कर्मचारी र प्राध्यापकको तलब नदिई श्रम शोषण गर्ने क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने, रोक्का गरिएको तलब तत्काल दिनुपर्ने, अनियमित हुने प्राध्यापक क्याम्पस निष्कासन गर्नुपर्ने वा नियमित गर्नुपर्ने, छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, शोधपत्रको असमान शुल्क समान गर्नुपर्ने, खानेपानीको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।
प्रतिक्रिया