पूर्णरुपमा क्षति भएकामध्ये तीन सय घर मात्र भत्काइयो

इनेप्लिज २०७२ भदौ ११ गते ८:२५ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । वैशाख १२ को भूकम्पले काठमाडौँ महानगरपालिकामा पूर्ण क्षति भएका दुई हजार ७०० मध्ये हालसम्ममा करिब ३०० घर मात्र भत्काइएको छ ।

भूकम्प गएको केही दिनमानै भत्केका घरको कारण सार्वजनिक स्थानको बाटो अवरुद्ध भएका, भत्किएका सांस्कृतिक सम्पदा र खतराको अवस्थामा रहेको ५५ वटा घर भने महानगरपालिका आफैँले भत्काएको महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र महानगरपालिकाको रोहवरमा सांस्कृतिक सम्पदाअन्तर्गत सुन्धरामा रहेको धरहरा, वसन्तपुरमा भत्किएका मठमन्दिरको फोहर व्यवस्थापन नगरपालिकाले गरेको हो ।

पूर्ण क्षति भएको भनी दर्ता भएका केही घरमा हाल मानिस बसोबास गरिरहेका छन् । मानिस बसिरहेकाले नगरपालिकाले पूर्ण क्षति भएको भनी भत्काउन आग्रह गरे पनि घरधनीका विभिन्न आन्तरिक कारणले गर्दा पछिल्लो समय घर भत्काउने काम सुस्त भएको छ ।

एउटै घर एकभन्दा बढी व्यक्ति मिलेर बनाएको र घरधनी विदेशमा भएको अवस्थाका कारण देखाउँदै नागरिकले पूर्णरुपमा क्षति भएको भनिएका घर पनि भत्काउन तत्पर नभएका महानगरपालिकाको भनाइ छ ।

असन, सीतापाइला, रविभवन, कालीमाटी, बालाजु, लैनचौर, ठमेललगायतको स्थानमा केही घर भत्काएका छन् भने केही भत्काउने क्रममा रहेका छन् ।

भत्काइएको घरबाट निस्केको फोहर व्यवस्थापनका लागि खुल्लामञ्चको पूर्व दक्षिण परिसर, लैनचौरको खुल्ला स्थान, डल्लु झलुङ्गेपुलसँगैको खुल्ला स्थान, कालीमाटी पुलसँगैको खुल्ला स्थानसहित १७ वटा स्थान तय गरिएको छ ।

महानगरपालिकाभित्र पर्ने पाँच हजार घर भूकम्पले गर्दा आंशिक क्षति भएको बताइएको छ ।

प्रतिक्रिया