वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो

इनेप्लिज २०७२ भदौ ११ गते ७:२३ मा प्रकाशित

पर्सा, ११ भदौ । प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ ।

वीरगन्जबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा ३२ वटा यात्रुबाहक बस, दुई सय सातवटा ट्रक, ९२ वटा तेलका ट्याङ्कर, ४२ वटा कन्टेनर, ग्यास बुलेट १६ वटा र चारपाङ्ग्रे साना गाडी गरी चार सयभन्दा बढी सवारी साधन पठाइएको हो ।

प्रहरी सुरक्षामा वीरगन्जबाट विभिन्न स्थानका लागि लगिएका वाहनमा आन्दोलनकारीले तोडफोड गरेका छन् । प्रहरीले वीरगन्ज भन्सार कार्यालय र सिर्सिया ड्राइपोर्ट कार्यालयबाट विभिन्न मालबाहक सवारी साधन र यात्रुबाहक बस स्कर्टिङ गरेर लैजाने क्रममा मधेस केन्द्रित दलका कार्यकर्ताहरुले वीरगन्जको बाइपास, अलखिया मठ, बहुअरी र परवानीपुर चोकमा निषेधाज्ञा तोडेर प्रदर्शन गरेका हुन् । आन्दोलनकारीले राति आधा दर्जन सवारी साधनमा समेत तोडफोड गरेका छन् ।

यसैबीच, मधेस केन्द्रित दलहरुले गरेको अनिश्चितकालीन मधेस बन्दका कारण पर्साको जनजीवन कष्टकर बनेको छ । १४ दिनदेखि बजार, पसल, कलकारखाना, शिक्षण संस्था, बैंक र वित्तीय संस्थाहरु बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ । लामो तथा छोटो दूरीका सवारी साधन पनि बन्द रहेका कारण यात्रुलाई सबैभन्दा बढी सास्ती भएको छ । आन्दोलनकारीले वीरगन्जका विभिन्न स्थानमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया