सहिद स्मृति पार्कको निर्माण अधुरै

इनेप्लिज २०७२ भदौ ११ गते २:०० मा प्रकाशित

Parbat_district_locationफलेवास (पर्वत), ११ भदौ । पर्वतको कटुवाचौपारीस्थित मलामीडाँडामा चार वर्षअघि देखि निर्माणाधीन सहिद स्मृति पार्कको निर्माण अलपत्र परेको छ ।

विसं २०६८ मा स्थानीय शान्ति समितिको पहलमा सहिद स्मृति पार्कसहित बहुउद्देश्यीय भवन निर्माणको गुरुयोजना बनाएको थियो । योजनाअनुसार मलामीडाँडामा रहेको करिब ११ रोपनी जग्गामा तारबारसमेत गरिएको छ । तारबार गरी यहाँ विभिन्न आकर्षक र मनोरम भौतिक संरचना निर्माण गर्ने योजना भए पनि अहिलेसम्म सबै काम अधुरै रहेका छन् । योजनाअनुसार अहिलेसम्म पार्कका लागि तारबार लगाउने, गेट र पोखरी निर्माण गर्नेबाहेकका केही पनि काम हुन सकेका छैनन् ।

शान्ति मन्त्रालयमार्फत बजेट विनियोजन गराई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना कहाँ पुगेको छ भन्नेबारे अहिलेसम्म कसैलाई जानकारी छैन । जिल्लास्थित शान्ति समितिको सक्रियतामा थालिएको पार्क निर्माण कामको जिम्मा एमाओवादी नेत्री एवम् सहिद परिवार सदस्य मनरुपा सुवेदीले लिनुभएको छ ।
सदरमुकामनजिकै रहेको यो स्थानबाट सदरमुकाम कुस्मासहित ज्ञाँदीको रमाइलो फाँटलगायत कालीगण्डकी खोँच, दुर्लुङ, हलहले, क्याङ, शङ्करपोखरीलगायत दर्जनौँ रमणीय स्थानको अवलोकन गर्न सकिन्छ । समयमै पार्क निर्माण नहुँदा स्थानीयवासीसमेत अलमलमा परेका छन् । यता निर्माण समितिले भने निर्माण सम्पन्न गर्नका लागि माग भएबमोजिमको बजेट उपलब्ध नहुँदा योजनाअनुसारको नभएको जनाएको छ ।

समितिका सदस्य सुवेदीका अनुसार हालसम्म रु १६ लाख आएको र सोही अनुसार काम भइरहेको छ । पार्कमा पोखरी, सहिदको स्तम्भ बनाउने लगायतका करोडौँको गुरुयोजना बनाइएको छ । वर्षैपिच्छे थोरैथोरै पैसा आएका कारण चाहेअनुसारका संरचना निर्माण गर्न नसकिएको र गत आवमा रु चार लाख ५० हजार आएकामा चौतारी र पोखरी निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया