चिया मजदुर ज्याला वृद्धिको माग गर्दै पुनः आन्दोलित

इनेप्लिज २०७२ भदौ ८ गते १२:३० मा प्रकाशित

chiyaसुरुङ्गा (झापा), ८ भदौ । चिया क्षेत्रमा कार्यरत मजदुर पुनः आन्दोलित भएका छन् ।

विभिन्न पाँच सूत्रीय माग राख्दै चिया बगानमा कार्यरत मजदुर आन्दोलित भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घसँग आबद्ध मेची अञ्चलका चिया बगानमा कार्यरत मजदुर आन्दोलनमा उत्रेका हुन् ।

श्रम ऐन, २०४८ अनुसार एक वर्ष अविच्छिन्न सेवा पूरा गरेपछि स्वतः स्थायी हुने व्यवस्था हुँदाहुँदै चिया बगानमा निरन्तर लामो समयसम्म काम गरेका कामदारलाई स्थायी नगरिएको आरोप उनीहरुको छ । क्षेत्रफलको आधारमा प्रति एक एकडबराबर एकजना कामदार अनिवार्य स्थायी गरिनुपर्ने माग उनीहरुको छ । चिया मजदुरले पाउँदै आएको ज्यालाले एउटा परिवारको जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेको मजदुरहरुको भनाइ छ ।

अन्य क्षेत्रमा काम गर्ने कामदारको भन्दा अत्यन्तै न्यून पारिश्रमिक रहेकाले हाल खाइपाई आएको ज्याला तथा कारखानामा दिँदै आएको अतिरिक्त भत्तामा शतप्रतिशत वृद्धि गरिनुपर्ने माग उनीहरुको छ । चौकिदार, नाइके सरदारहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरिनुपर्र्ने मजदुरको माग छ ।

आज झापाको बिर्तामोडस्थित नेपाल टे«ड युनियन महासङ्घ जिफन्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले तत्काल चिया बगानमा कार्यरत मजदुरको ज्याला वृद्धि नगरिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो ।

नेपाल चिया बगान मजदुर सङ्घका अध्यक्ष भुपाल सापकोटाले मजदुरको ज्याला २०७० सालमा सरकारले दैनिक रु २०१ तोकेको भए पनि अहिले महँगी बढेकाले अब शतप्रतिशत ज्याला बढाउनुपर्ने बताउनुभयो । विसं २०१६ देखि झापाबाट व्यावसायिक चियाखेती सुरु भएको हो । हाल नेपालको विभिन्न भूभागमा १८ हजार १४९ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको बताइन्छ ।

उत्पादित चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना इलाममा ३५, झापामा २५ र धनकुटामा तीन गरी ६५ वटा रहेको बताइएको छ । चिया बगान र कारखानामा अहिले ५० हजार मजदुर कार्यरत रहेको अखिल नेपाल चिया मजदुर सङ्घकी उपाध्यक्ष सीता सापकोटाले बताउनुभयो ।

चिया क्षेत्रमा कार्यरत मजदुरको ज्याला श्रम ऐनअन्तर्गत प्रत्येक दुई वर्षमा वृद्धि हुनुपर्ने उल्लेख भए पनि चिया कारखानाका मालिकहरुले अटेर गर्दै आएका छन् । चियाका समस्या सुल्झाउन केही महिना अगाडि प्रमुख चार दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया