पाडापाडी संरक्षण गर्न जुटे खानीगाउँवासी

इनेप्लिज २०७२ भदौ ८ गते २:४३ मा प्रकाशित

pada-350x262फलेवास (पर्वत), ८ भदौ । गाउँगाउँमा भैँसीले पाडापाडी जन्माउने बित्तिकै काट्ने चलन बढ्दै गएको बेला पर्वतको खानीगाउँमा भने पाडापाडी संरक्षण अभियान थालिएको छ ।

जन्मने बित्तिकै पाडापाडी काट्ने चलन नरोकिँदा स्थानीय जातका लिमी र पारकोटे जातको भैँसी लोप हुन थालेपछि पाडापाडी संरक्षण अभियान थालिएको हो ।

पाडापाडी हुर्काउन झन्झट मान्ने र थोरै दूध हुने भएकाले पाडापाडीलाई जन्मने बित्तिकै काट्ने चलन छ । केही व्यक्तिले पाडी राख्ने गरे पनि कडुवा भएपछि काट्न थाली हाल्ने प्रचलन बढेकाले स्थानीय जातको भैँसी जोगाउन थालिएको छ । त्यसका लागि खानीगाउँमा पाडापाडी संरक्षण तथा स्रोत केन्द्रसमेत स्थापना गरिएको छ ।

अभियानका क्रममा भैँसीले पाडापाडी जन्माउने बित्तिकै संरक्षण केन्द्रले खरिद गर्छ । स्थानीय जातका भैँसीबाट भर्खरै जन्मिएका पाडापाडीको संरक्षण गरी प्रजननयोग्य पाडापाडी तथा पाडीको स्रोतकेन्द्र स्थापना गर्ने उद्देश्यले अभियान थालिएको केन्द्रका अध्यक्ष ध्रुव लम्सालले बताउनुभयो । अहिले भर्खरै जन्मेका १२ वटा पाडापाडी खरिद गरिएको छ । पाडापाडी हुर्काउन दैनिक ६० लिटर दूध खुवाउने गरिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

जिल्ला पशुसेवा कार्यालय पर्वत र संसद् विकास कोषको सहकार्यमा स्थानीय लिमे पारकोटे भैँसी संरक्षणका लागि घाँस विकास र गोठ निर्माण पनि गरिसकेको छ ।
जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख अमृतकुमार मास्केले व्यावसायिक रुपमा भैँसीपालन खोज्ने किसानलाई प्राविधिक सरसल्लाह, जुकाको औषधि र पोषिलो घाँसको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । जिल्ला पशुसेवा कार्यालयले पछिल्लो समयमा भैँसीको मूल्य आकासिन थालेपछि पाडापाडी हुर्काउने र थारो भैँसीलाई उत्पादनशील बनाउने किसानलाई अनुदान पनि दिन थालेको छ ।

प्रतिक्रिया