नवलपरासीका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव

इनेप्लिज २०७२ भदौ ८ गते २:४१ मा प्रकाशित

medicineपरासी, ८ भदौ । नवलपरासीका सरकारी स्वास्थ्य संस्थामा यतिबेला विभिन्न प्रकारका औषधिको अभाव भएको छ ।

विभिन्न पक्षबाट गरिएको लामो समयको बन्द साथै पहाडी क्षेत्रका सडक भत्किँदा लामो समयदेखि सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।

विशेष गरी सरकारद्वारा निःशुल्करुपमा जनतालाई वितरण गर्ने विभिन्न प्रकारका औषधि, भ्याक्सिन खोप, साथै गर्भवतीका लागि आवश्यक आइरन चक्कीको निकै अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ ।

जिल्लामा तराईदेखि पहाडी क्षेत्रका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि स्वास्थ्य संस्थामा सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन् ।

नवलपरासी १५ दिनदेखि बन्द हुँदा औषधि आपूर्ति हुन नसक्दा अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख जयबहादुर कार्कीले बताउनुभयो ।

जिल्लामा एक जिल्ला अस्पताल, पाँच प्राथमिक स्वास्थ्य केन्द्र, र ७१ वटा स्वास्थ्य चौकी रहेका छन् ।

प्रतिक्रिया