ताप्लेजुङमा बजार पसल खुल्ला

इनेप्लिज २०७२ भदौ ७ गते ५:०३ मा प्रकाशित

Taplejung_district_locationताप्लेजुङ, ७ भदौ । संविधानको मस्यौदामा आफ्ना मुद्दा नसमेटिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दको दोस्रो दिन आज ताप्लेजुङमा भने बिहानैदेखि सम्पूर्ण बजार पसल खुल्ला रहेका छन् ।

उद्योग वणिज्य सङ्घ ताप्लेजुङ र आन्दोलनरत आदिवासी जनजातिबीच आइतबार साँझ भएको छलफलमा बजार पसलमात्र खोल्ने सहमति भएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा कञ्चनजङ्घा च्यालेन्ज रनिङ कप फुटबल सुरु हुनुका साथै लाखे जात्रा पर्व सुरु भएकाले सर्वसाधारणलाई मर्का नपरोस् भनी बजार पसल खोल्ने सहमति भएको आदिवासी जनजाति महासङ्घ ताप्लेजुङका अध्यक्ष यिगेन्द्रकुमार गुरुङले जानकारी दिनुभयो ।

नयाँ बन्ने संविधानमा पहिचानसहितको सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत मुद्दा सुनिश्चितताको माग गर्दै महासङ्घ चरणबद्ध आन्दोलनमा उत्रिएको हो ।

सीमाङ्कन सम्बन्धमा पछिल्लो सात प्रदेशको खाकाले कतिपय ठाउँमा आन्दोलन मत्थर बनाएको छ भने कतिपय स्थानमा प्रदर्शन जारी छ ।

प्रतिक्रिया