बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:३४
वासिङटन डिसी 13:49

द्वन्द्वपीडितकी आमा भीख माग्दै

इनेप्लिज २०७२ भदौ ७ गते ४:४१ मा प्रकाशित

गुलरिया (बर्दिया), ७ भदौ । द्वन्द्वमा मारिएका मगरागाडी गाविस– ४ मानपुर गाउँका वसन्त थारुकी आमा फक्किया थरुनीे भीख मागेर पेट पालिरहेकी छन् ।

थरुनी भन्नुहुन्छ ‘‘हालसम्म न त मेरो छोरोको लास भेटिएको छ, न त सास भेटिएको छ, मलाई पाल्ने छोरा बेपत्ता भएपछि अहिले ६० वर्षको उमेरमा मैले भीख मागेर खानुपरेको छ ।’’

राज्य पक्षबाट रम्मापुर ब्यारेकस्थित नेपाली सेनाले २०५८ सालमा घरबाटै सुतिरहेको बेलामा थारुसहित पाँच जनालाई बेपत्ता पारेको थियो ।

उनलाई साथ दिने र लालनपालन गर्ने कोही नभएपछि उनी अहिले नेपालगन्ज बजारको बागेश्वरी मन्दिर वरपर भीख माग्दै आफ्नो पेट पालिरहेकी छन् ।

बर्दियामा सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका परिवार र बेपत्ता परिवार गरी करिब ४०० जनाको समस्या यस्तै छ, उनीहरुको समस्याप्रति राज्यले कुनै सुनुवाइ गरेको छैन ।

पीडित परिवारका टुहुरा छोराछोरीले छात्रवृत्तिसमेत नपाएको सहिद परिवार कृष्ण कुस्समा थारुले दुःखेसो पोख्नुभयो । ‘‘जग्गा जमिन छैन, के खाने के लाउने, कसरी छोराछोरीलाई पढाउने, हामी धेरै समस्यामा छौं’’ थारुले भन्नुभयो ।

प्रतिक्रिया