टीकापुरमा कफ्र्यु हटाइयोे

इनेप्लिज २०७२ भदौ ५ गते ४:४६ मा प्रकाशित

धनगढी, ५ भदौ । अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कफ्र्यु आज बिहान ६ बजेबाट हटाइएको छ ।

कफ्र्यु हटाइएपछि टीकापुर नगर क्षेत्रको स्थिति बिहानदेखि केही सामान्य बनेका, बजार क्षेत्रमा पसल नखुले पनि सर्वसाधारण हिँडडुल गर्न थालेको इलाका प्रशासन कार्यालय टीकापुरका प्रशासकीय अधिकृत सुमन धितालले बताउनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म उत्तरमा पथरैया गाविस, दक्षिणमा धनसिंपुर गाविस, पूर्वमा कर्णाली नदी र पश्चिममा मुनुवा गाविसभित्रको टीकापुर नगर क्षेत्रमा सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

अखण्ड पक्षधरले गरेको मोटरसाइकल र्‍यालीलाई थरुहट पक्षधरले टीकापुर नजिकको दुर्गौली क्षेत्रमा शुक्रबार बाधा अवरोध गर्दै ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो ।

झडप पछिको स्थिति नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी घाइते भएका थिए । झडपमा १४ अखण्ड पक्षधर पनि घाइते भएका थिए ।

मोटरसाइकल र्‍यालीमा अवरोध पुर्‍याइएपछि आक्रोशित भएका अखण्ड पक्षधरले झडपकै क्रममा बाटोमा पर्ने केही सर्वसाधारणका घरमा तोडफोड गरेका थिए ।

यस्तै थरुहट पक्षधरले र्‍यालीका केही मोटरसाइकल नियन्त्रणमा लिई तोडफोड गरेका थिए । थरुहटका कार्यकर्ताले रेडियो घोडाघोडी एफएमका पत्रकार नवराज खनालमाथि शुक्रबार आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खनाल उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।

दुई पक्षबीच भएको झडपको स्थितिले कैलाली जिल्लामा सुरक्षा चुनौती बढेपछि टीकापुर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच सामाजिक सद्भाव कायम राख्न पहल गर्ने प्रयासस्वरुप आज सर्वपक्षीय बैठक बोलाइएको प्रशासकीय अधिकृत धितालले जानकारी दिनुभयो ।

थरुहट पक्षले गरेको बन्द भने कैलालीमा यथावत रहेको छ ।

प्रतिक्रिया