तीन दशकमा पनि सञ्चालन भएन मोटरबाटो

इनेप्लिज २०७२ भदौ ४ गते ३:०६ मा प्रकाशित

पाल्पा, ४ भदौ । रुपन्देहीको सालझन्डीदेखि पाल्पाको सुन्दरढुङ्गा जोड्ने पश्चिम पाल्पाकै मुख्य मोटरबाटोको ट्र्याक गत आर्थिक वर्षमा खुलेको भए पनि अझै गाडी चल्न सकेका छैनन् ।

सालझण्डी—सुन्दरढुङ्गा मोटरबाटोअन्तर्गत जङ्गल क्षेत्रमा बाँकी रहेको सात किलोमिटरको नयाँ ट्र्याक गत वर्ष खोलिएको थियो । पाल्पाको अति विकट मानिने यस क्षेत्रमा बर्सेनि पर्ने बजेट ठेकेदार कम्पनी र प्राविधिकको मिलेमतोमा कागजमा मात्र सम्पन्न गरिने गरेको छ ।

यसपटक यो मोटरबाटो बहुवर्षीय योजनामा परेपछि बाटोे छिटो निर्माण हुने अपेक्षा गरिए पनि सोअनुसार काम हुन सकेको छैन । गत चैतमा बाटो बहुवर्षीय योजनामा परेपछि गत आर्थिक वर्षको अन्तिम असारमा केही काम भएको छ । ठेकेदार कम्पनी अर्घाखाँची निर्माण सेवाका सागर भुसालले ४०० घनमिटर ग्याबिनको काम असारमा गरेको जानकारी दिनुभयो । अहिले भने वर्षाको कारण काम स्थगित गरेको र असोज पहिलो साताबाट काम पुनः सञ्चालन हुने भुसालले बताउनुभयो । उहाँका अनुसार उक्त बहुवर्षीय योजनाका लागि रु चार करोड १८ लाखको सम्झौता भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सुजन अधिकारीले बहुवर्षीय योजनाको काम निरन्तर चल्ने तर बढी पानी परेको बेला मात्र केही समय स्थगित गरिने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार बहुवर्षीय आयोजनाको काम बाह्रैमास गर्न सकिन्छ तर ठेकेदार कम्पनीले बर्खायामको काम गुणस्तरीय नहुने र लागत पनि बढी लाग्ने भन्दै काम स्थगित गरेको छ । पाल्पा क्षेत्र नं ३ का सभासद् तथा काँग्रेस नेता हरिप्रसाद नेपालले यो बाटो बहुवर्षीय योजनामा पार्न पहल गर्नुभएको थियो । बहुवर्षीय योजनाअन्तर्गत उक्त बजेट तीन वर्षभित्र खर्च गर्न पाउने व्यवस्था छ । यो बाटो निर्माणको प्रयास भने २०४७ सालबाटै भएको हो । करिब ३० किलोमिटर दूरीको यो बाटोमा जङ्गल क्षेत्रको सात किलोमिटर बाहेकको क्षेत्रमा हिउँदभर गाडी चलिरहेका छन् ।

प्रतिक्रिया