टेलिकमको गुणस्तर सुधार गर्न संसदीय समितिको निर्देशन

इनेप्लिज २०७२ भदौ ३ गते १४:०३ मा प्रकाशित

nepal-telecomकाठमाडौँ, ३ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले नेपाल टेलिकमप्रति आमनेपालीको भरोसा रहेकाले सेवा, सुविधा र गुणस्तरलाई सुधार गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न र क्षमताको अभिवृद्धिमा ध्यान दिन निर्देश गरेको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

समितिले इमेल तथा इन्टरनेटलाई गाउँस्तरसम्म पु¥याउन र विटिएस टावर थप्न र त्यसको गुणस्तरलाई ध्यान दिनसमेत निर्देशन दिएको छ ।

आमनागरिकले अनुभूति गर्ने गरी सेवामा गुणस्तरीयता प्रदान गर्न, सेवाका दरहरु समसामयिक रुपमा पुनरावलोकन गरी क्रमशः परिमार्जन गर्न, सर्वसुलभ सेवा प्रवाह गर्नेतर्फ अग्रसर हुँदै आगामी २० वर्षमा यस क्षेत्रमा हुने परिवर्तनतर्फ ध्यान केन्द्रित गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेतर्फ गम्भीरतापूर्वक लाग्न समेत ध्यानाकर्षण गराइएको छ ।

सबै प्रकारको प्रविधिको उपयोग गरी विभिन्न किसिमका सेवा प्रदान गर्ने टेलिकम मुलुकको प्रमुख सेवा प्रदायक भएकाले आमनागरिकको चासो र चिन्ता रहने गरेको तथ्यलाई सरोकार भएका निकायले विशेष ध्यान दिनुपर्ने समितिले ठहर गरेको छ ।

टेलिकमको गत जेठ मसान्तसम्म एक करोड २८ लाख २७ हजार ६९१ ग्राहक छन् । त्यसमा जिएसएम मोबाइल सेवातर्फ एक करोड सात लाख ८० हजार ६५४, सिडिएमएतर्फ १३ लाख ८० हजार ७७० तथा साधरण टेलिफोनतर्फ ६ लाख ६५ हजार ३६६ रहेको छ । यस्तै टेलिकमको डाटा सेवातर्फ ६४ लाख १० हजार ८४२ ग्राहक छन् ।

टेलिकमले ७५ वटै जिल्लामा एडिएसएल सेवा पु¥याएको छ भने ‘थ्री जी’ सेवाको पहुँच ७१ जिल्लामा पुगेको छ ।

टेलिकमले चालु आवको अन्त्यसम्म एक करोड ५२ लाख ६६ हजार ९४ पु¥याउने लक्ष्य राखेको छ । जसमध्ये जिएसएम मोबाइल सेवामा २० लाख ६० हजार, सिडिएमएमा एक लाख ७५ हजार र साधारण टेलिफोनतर्फ २९ हजार ४४९ लाइन थप गर्ने लक्ष्य रहेको छ । यस्तै डाटा सेवा तर्फ २० लाख ग्राहक अभिवृद्धि गरेर ८६ लाख २४ हजार पु¥याउने लक्ष्य राखेको छ ।

समितिको बैठकमा सांसद्ले टेलिकमको सेवा प्रभावकारी नभएको, बोल्दा बोल्दै लाइन काटिने गरेको, भूकम्पपछि घरधनीले टावर हटाउँदा नेटवर्कमा समस्या थपिएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले टेलिकम सेवालाई अत्याधुनिक प्रविधिको उपयोग गरेर सेवालाई गुणस्तरीय बनाउन लागिपरेको जानकारी गराउनुभयो ।

टेलिकमप्रति आमजनताको सकारात्मक धारणा रहेपनि गुणस्तरमा देखिएको समस्याका कारण नकारात्मक सन्देश जान सक्नेतर्फ बेलैमा ध्यान पु¥याउनुपर्ने र त्यसमा सरोकार भएका सबै निकायको सकारात्मक सहयोग अत्यावश्यक रहेको बताउनुभयो ।

सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक सबै उपायहरु अवलम्बन गरिने बताउनुभयो ।

सांसद्ले दिनुभएको सुझावलाई सकारात्मक रुपमा लिएर त्यसलाई कार्यान्वयन गरिने सचिव मल्लको भनाइ थियो ।

प्रतिक्रिया