इराकबाट फर्किएर कुखुरापालन व्यवसाय

इनेप्लिज २०७२ भदौ ३ गते १४:०१ मा प्रकाशित

Speckled-Hen-Free-Range-Eggs-Highveld-farm_910b3341सुरुङ्गा (झापा), ३ भदौ । वैदेशिक रोजगारीका लागि इराक पुग्नुभएका दुई युवाले त्यहाँबाट फर्किएर अहिले झापामा कुखुरापालन व्यवसाय सुरु गर्नुभएको छ ।

शिवसताक्षी नगरपालिका–३ व्याङ्डाँडाका पवन कटुवाल र धनकुटा निवासी पदम राईले रु ९० लाख लगानी गरेर कुखुरापालन व्यवसाय सुरु गर्नुभएको हो । धन कमाउन इराकमा पुग्नुभएका कटुवाल र राईको त्यहीँ पाँचवर्ष अगाडि चिनजान भएको थियो ।

इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरापालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै भनाइ छ ।

नेपाल फर्किएलगत्तै आफूहरुले व्यावसायिक कुखुरापालनका लागि डार्डेन पोल्ट्री फार्म सुरु गरेको बताउनुहुन्छ व्याङ्डाँडाका कटुवाल । नौ कट्ठा क्षेत्रफलमा बनाइएको व्यवस्थित फार्ममा अहिले आठ हजार लेयर जातका कुखुरा पालिएको र दैनिक ४५० भन्दा बढी अन्डा उत्पादन गर्नसमेत सुरु भइसकेको कटुवालले बताउनुभयो ।

फार्म सञ्चालनका लागि अहिले सात जनालाई आफूहरुले रोजगारीसमेत उपलब्ध गराएको उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर फार्म सुरु गर्दा होच्याउने र गिज्याउने धेरै भएपनि अहिले सातजनालाई आफैँले रोजगारी दिएपछि आफूहरुले सुरु गरेको कुखुरापालन व्यवसाय हेर्न आउनेको घुइँचो नै लाग्ने गरेको छ फार्मका अर्का सञ्चालक राईले भन्नुभयो ।

आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो रहेनछ तर परिश्रम गर्नुप¥यो, राईले थप्नुभयो । आफूहरुले सुरु गरेको यो व्यवसायबाट अहिले झन्डै रु ७५ हजार मासिक बचत गर्नसमेत सुरु गरिसकेका छौँ, फार्मका सञ्चालक कटुवालले भन्नुभयो ।

प्रतिक्रिया