टिमुरखेती व्यवसायीकरणको आवश्यकता

इनेप्लिज २०७२ भदौ ३ गते १३:५९ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERAरामपुर (पाल्पा), ३ भदौ । टिमुरखेतीलाई व्यवसायीकरण गर्न नसक्दा पाल्पाका किसानले आम्दानीको स्रोत बनाउन सकिरहेका छैनन् ।

जनचेतनाको कमीले गर्दा टिमुरको व्यावसायिक खेती गरी उपयोगमा ल्याउन नसक्दा व्यावसायिक तवरले सफलता प्राप्त गर्न नसकिएको हो ।

मानव स्वास्थ्यलाई अत्यन्त राम्रो मानिने र औषधिका रुपमा प्रयोग हुने भए पनि यसको खेती विस्तार गरी उपयोगिताका विषयमा गाउँका किसानलाई जानकारी दिन नसक्दा अन्य खेतीमा जस्तो टिमुरखेतीमा किसानको आकर्षण नभएको गोठादी गाविसका कृषक वीरबहादुर चिदी बताउनुहुन्छ ।

यस प्रजातिको बोटमा काँडा हुने, काँडाले घोच्यो भने घाउ पाक्ने भएकाले घर तथा बस्ती नजिकमा समेत यसको बिरुवा लगाइँदैन । यो प्राकृतिक जङ्गलमा आफैँ हुर्किएको बोटबाट टिप्ने गरिन्छ । गाउँका केही व्यक्तिले टिपेर बुटवलको बजारमा पु¥याई न्यूनतम मूल्यमा बिक्री गर्ने गरेका छन् ।

“घरायसी प्रयोजनका लागि २÷४ माना भए एक वर्षलाई पुग्दछ तर यसको व्यावसायिक खेतीतर्फ ध्यान जान सकेको छैन” चिदीले भन्नुभयो ।

टिमुरको व्यापार गर्दागर्दै कसेनी सिकारकोटका डिलबहादुर विश्वकर्माको त नाम नै परिवर्तन भएको छ । टिमुर टिपेर स्थानीय बजारमा बिक्री गर्दै आउनुभएका डिलबहादुरलाई सबैले ‘टिमुरे’ भनेर चिन्छन् । उहाँले साउनदेखि कात्तिक महिनासम्म टिमुर बिक्री गर्नुहुन्छ ।

सालको पातले बनाएको टपरीमा रु २० का दरले दिनहुँजसो टिमुर बिक्री गर्न उहाँ स्थानीय बजारदेखि तानसेन बजारसम्म पुग्नुहुन्छ । टिमुर बेचेर आफ्नो घरखर्च चलेको विश्वकर्माले बताउनुभयो ।

भौगोलिक भूबनोट हावापानीका दृष्टिकोणबाट टिमुरखेतीका लागि ४० वटाभन्दा बढी गाविस उपयुक्त भए पनि त्यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने कार्य नभएको सरोकारवालाको भनाइ छ ।

किसानमा टिमुरबाट भन्दा अन्य क्षेत्र दालचिनी, अम्रिसोबाट छोटो समयमा धेरै आम्दानी लिने प्रवृत्ति बढेकाले उनीहरुको आकर्षण कम भएको जिल्ला वन कार्यालयका प्रमुख प्रकाश लम्साल बताउनुहुन्छ ।

लगाएको तीनदेखि पाँच वर्षपछि उत्पादन लिन सकिने र एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिने भए पनि यस खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने राम्रो ज्ञान नभएका कारण खेती विस्तार हुन नसकेको उहाँको भनाइ छ ।

प्राकृतिक जङ्गलमा भएका बोट बिरुवाको समेत संरक्षण हुन सकेको छैन । यस्ता जडीबुटीजन्य वस्तुको संरक्षण सम्वद्र्धनका लागि सरकारले परिणाममुखी नीति निर्माण गर्नु जरुरी छ ।

प्रतिक्रिया