प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चामल उद्योग सङ्कटमा

इनेप्लिज २०७२ भदौ ३ गते १३:५७ मा प्रकाशित

riceवीरगन्ज, ३ भदौ । आयातित भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् ।

स्वदेशी चामल उद्योगको संरक्षणका लागि धान आयातमा लाग्ने भन्सार दर न्यून गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी व्यवसायीहरुको छ । भारतीय सीमान्त बजारसँग प्रतिस्पर्धा गर्न भारतबाट आयात हुने धानमा भन्सार दर न्यून गर्नुपर्ने चामल उद्योग सञ्चालकहरुको माग छ ।

स्वदेशी चामल उद्योगलाई संरक्षण गर्ने हो भने धान आयातमा लाग्दै आएको कृषि सेवा शुल्कलाई पाँच प्रतिशतबाट झारेर सकेसम्म शून्यदर कायम गर्नुपर्ने हुन्छ । यहाँका अधिकांश चामल उद्योग भारतीय धानमाथि निर्भर रहेका छन् ।

स्वदेशी धानको उत्पादनले यहाँका चामल उद्योगहरु मुस्किलले चार पाँच महिनामात्र सञ्चालनमा ल्याउन सकिन्छ । स्वदेशी धान अभावका कारण बाध्य भएर नेपाली चामल उद्योगहरुले भारतीय धानमाथि निर्भर रहनुपरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले बताउनुभयो ।

भारतमा धान सस्तो मूल्यमा पाइने र त्यहाँ उत्पादन लागतसमेत सस्तो भएकाले आयातित भारतीय चामलसँग यहाँका चामल व्यवसायीहरुले प्रतिस्पर्धा गर्न सकिँदैन । धानमा लिएको भन्सार दरबन्दीका कारण भारतीय बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ ।

उत्पादन लागत बढ्दा सस्तोमा आएका भारतीय चामलसँग प्रतिस्पर्धा गर्न सकिँदैन । त्यसैले धानको आयातमा लाग्ने भन्सार दर सके शून्यमा, नसके कम्तीमा दुईदेखि तीन प्रतिशत कायम गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

नेपाली चामल उद्योगहरुलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरु जोड दिन्छन् । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पाँच प्रतिशत कृषि सेवा शुल्क लिइने गर्दछ ।

स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा भारतीय चामल उद्योगलाई प्रोत्साहन गर्ने खालको भन्सार नीति देखिएको छ, अर्का चामल उद्योग सञ्चालक तथा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गणेश लाठले भन्नुभयो – धान र चामलको भन्सार मूल्याङ्कन व्यावहारिक र वैज्ञानिक हुनुपर्दछ ।

स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने माग गत वर्षदेखि नै उठाउँदै आएको भए पनि यस वर्षको बजेटमा समेत त्यसलाई सम्बोधन नगरिएकाले उहाँले दुःख व्यक्त गर्नुभयो ।

चामल उद्योग सञ्चालकहरुका अनुसार कृषिजन्य उद्योगका लागि चाहिने कच्चा पदार्थको अभावले गर्दा उद्योगहरु धरासायी हुन थालेका छन् । यसतर्फ सरकार संवेदनशील हुनुपर्नेमा उद्योगीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया