जनजीवन सामान्य बन्दै

इनेप्लिज २०७२ भदौ ३ गते ४:३८ मा प्रकाशित

धनगढी, ३ भदौ । विभिन्न पक्षले गरिरहेको बन्द र प्रदर्शनका कार्यक्रम खुकुलो देखिन थालेपछि कैलालीलगायतका जिल्लामा लगातारको बन्दबाट आजित भएको जनजीवन सामान्य बन्दै गएको छ ।

योसँगै कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की लगायतका क्षेत्रमा बुधबारदेखि बजार पसल सञ्चालन भई सर्वसाधारणको चहलपहल पनि बढ्न थालेका छन् । टीकापुर क्षेत्रमा बसेको सर्वपक्षीय बैठकमा भएको सहमतिअनुसार आजबाट विद्यालयमा समेत पठनपाठन सञ्चालन भएको छ ।

यद्यपि जिल्लाको पश्चिमी क्षेत्रका धनगढी, अत्तरिया लगायतका क्षेत्रका शैक्षिक संस्थामा अझै पनि पठनपाठन सञ्चालन हुन सकेको छैन । यस्तै धनगढीबाट छुट्ने छोटो दूरीका सवारीका साधन चल्न थालेका भए पनि पूर्वी सडक रुटमा चल्ने सवारीसाधन चल्न सकेका छैनन् । कतिपय सडक रुटमा प्रहरीको सुरक्षामा सवारीका साधन गन्तव्यतर्फ पठाउने गरिएको छ ।

सीमाङ्कनमा दलहरुबीच भएको सहमतिसँगै अखण्ड सुदूरपश्चिम पक्षधरले जारी राखेको आफ्नो बन्द र प्रदर्शनका कार्यक्रम स्थगित गरेकामा सीमाङ्कनप्रति असहमति राख्दै थरूहट/थारूवान् पक्षधरले सुरु गरेको बन्द हडतालका कार्यक्रम पनि केही मत्थर देखिएपछि बजार व्यवसाय सञ्चालन हुन थालेको हो ।

प्रस्तावित सीमाङ्कनप्रति असहमति राख्दै विगत दुई हप्तादेखि गरिएको बन्दबाट यस क्षेत्रमा यातायात, उद्योग–व्यवसाय, शैक्षिक संस्था लगायतको क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो । यद्यपि थरुहट÷थारूवान् पक्षधरले पत्रकारसम्मेलन गरी आफूहरुको बन्दको कार्यक्रम यही भदौ ४ गतेसम्म जारी रहेको बताएको छ ।

प्रतिक्रिया