निमित्तका भरमा अधिकांश सरकारी कार्यालय

इनेप्लिज २०७२ भदौ ३ गते ४:२३ मा प्रकाशित

भीमदत्तनगर, ३ भदौ । आर्थिक वर्ष सकिएसँगै कार्यालय प्रमुखले जिल्ला छाड्ने लहर नै चलेपछि बझाङका अधिकांश सरकारी कार्यालय अहिले निमित्तका भरमा सञ्चालन भइरहेका छन् ।

यहाँको जिल्ला प्राविधिक कार्यालय, नगरपालिका कार्यालय, जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, नगर जिल्ला निर्वाचन कार्यालय, जिल्ला पशु सेवा कार्यालय र सिँचाइ कार्यालय प्रमुखविहीन छन् ।
प्रमुखविहीन सरकारी कार्यालय निमित्तको भरमा चलेका छन् भने केही कार्यालय सहयोगीको भरमा चल्दै आएका छन् । जिल्लाका बढी कामकारबाही हुने सरकारी कार्यालयमा कार्यालय प्रमुख अनुपस्थित हुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । निमित्तको जिम्मेवारी पाएका कर्मचारीसमेत सेवाग्राहीको समस्यालाई चासोका साथ नहेर्ने, प्रमुख नभएको भन्दै आलटाल गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

“हाकिम छैनन् भनेर पन्छिने गर्नाले टाढा–टाढाबाट सदरमुकाम आएका सर्वसाधारण निराश भएर फर्किनु परेको छ”, जयपृथ्वी नगरपालिका–६ का जयबहादुर सिंहले भन्नुभयो, “सानो कामका लागि पाँच दिन धाउँदा पनि काम हुन सकेको छैन ।” निमित्त पाएका कर्मचारी पनि आफूहरुलाई सबै अधिकार प्राप्त नभएकाले सर्वसाधारणका सबै काम गर्न नसकिएको बताउँछन् । जसले गर्दा सेवाग्राहीलाई फर्काउनुपर्ने अवस्था आउने गरेको उनीहरु बताउँछन् ।

“सबैजसो काममा निमित्तलाई अख्तियारी हुँदैन”, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णबहादुर खातीले भन्नुभयो, “सामान्य कामबाहेकका काम नहुने भएकाले सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता हुन्छ ।” कार्यालयमा निमित्तको जिम्मेवारी पाएका जिल्ला प्राविधिक कार्यालयका खरिदार सत्य जोशीले भन्नुभयो, “हाकिम साप नहँुदा सर्वसाधारणको काम दु्रत गतिमा हुन सक्दैन ।”

जिल्लास्थित अन्य सरकारी कार्यालयको तुलनामा नगरपालिकामा आउने सेवाग्राही बढी मर्कामा परेका छन् । नगरपालिकाका कार्यकारी प्रमुख सन्तबहादुर सुनार काज मिलाएर हिँड्नु भएपछि नगरपालिका कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अहिले निमित्त कार्यकारीको जिम्मेवारी पूर्णबहादुर खड्काले सम्हाल्दै आउनुभएका छन् । जिल्लाको प्रमुख प्रशासनिक निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले कार्यालयको नियमनप्रति चासो नदेखाउँदा पनि यहाँ आउने कार्यालय प्रमुख कामप्रति वास्ता कम गर्ने गरेको स्थानीयवासीको बुझाइ छ ।

त्यसैगरी स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले जिल्ला छोड्नु भएको एक महिना पूरा भएको छ । उहाँले शेरबहादुर विष्टलाई निमित्तको जिम्मेवारी सुम्पेर जानुभएको छ । त्यसैगरी एक वर्षदेखि कार्यालय प्रमुखविहीन भएको जिल्ला जनस्वास्थ्य कार्यालयमा निमित्तको जिम्मेवारी पाएका डा वीरबहादुर थापासमेत कार्यालयमा हुनुहुन्न । उहाँ एक महिनादेखि काजमा बसेकाले उहाँको जिम्मेवारी भानुभक्त जाशीले सम्हाल्दै आउनुभएका छन् ।

त्यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख टेकराज भण्डारी, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शिवप्रसाद देवकोटा, जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत अच्युत अर्याल, जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत पशुपति नाथ र जयपृथ्वीबहादुर सिंह मार्ग (खोड्पे बझाङ सडक आयोजना)का जिल्ला इन्जिनियर गोविन्दप्रसाद खनालसमेत जिल्लाबाहिर हुनुहुन्छ ।

प्रतिक्रिया