पहिरोमा पुरिएर श्रीमान्को मृत्यु, श्रीमती घाइते

इनेप्लिज २०७२ भदौ ३ गते २:४५ मा प्रकाशित

गोरखाबजार, ३ भदौ । उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले गएराति एक वृद्धको मृत्यु भएको छ ।

तिब्बतसँग सिमाना जोडिएको ल्हो–९ गाउँका ७० वर्षीय पासाङ छिरिङ लामाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । माथिबाट पहिरोसँगै झरेको ठूलो ढुङ्गा छिरिङमाथि बज्रेको थियो ।

उनीहरु स्याला गाउँबाट ल्हो गाउँतर्फ आउँदै थिए । जङ्गलको बाटोमा माथिबाट झरेको पहिरोमा पुरिएपछि छिरिङको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

साथै पहिरोमा परेर छिरिङकी श्रीमती काल्तेन लामा घाइते भएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बुधबार दिनभर स्याला–ल्हो गाउँ आवतजावत गर्ने बाटोमा पहिरो खसेकाले मानिस हिँड्न सकेका थिएनन् । बेलुकी पहिरो रोकिएपछि छिरिङ दम्पती घर हिँडेका थिए । तर पुनः पहिरो झरेपछि छिरिङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीनायब उपरीक्षक वसन्त रजौरेका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ । भूकम्पपछि उत्तरी गोरखामा एक गाउँदेखि अर्को गाउँ पुग्ने बाटो पहिरोले अवरुद्ध छ । बर्सातको बेला पहिरो झर्ने उत्तरी भेगमा बर्सात रोकिएपछि पनि सुक्खा पहिरो झर्छ ।

प्रतिक्रिया