कपिलवस्तुमा प्रहरी र प्रदर्शनकारीबीच झडप, २० भन्दा बढी घाइते

इनेप्लिज २०७२ भदौ २ गते १४:४४ मा प्रकाशित

कपिलवस्तु, २ भाद्र । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ ।

सात दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय चोक अगाडि झडप हुँदा करिब १५ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । यसैगरी, प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी र सशस्त्र प्रहरीतर्फका आधा दर्जन सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन लाठी चलाउनुका पटक पटक अश्रु ग्यास प्रहार गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले केही राउन्ड गोलीसमेत प्रहार गरेको थियो । प्रहरीको गोली लागेर दुईजना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ठूलो सङ्ख्यामा गाउँगाउँबाट सदरमुकाम आई जनता विरोध प्रदर्शनमा उत्रिएका स्थिति तनावपूर्ण बनेको हो । प्रहरीको लाठी प्रहारबाट तमलोपाका जिल्ला उपाध्यक्ष धरमबहादुर लाल श्रीवास्तव, सङ्घीय समाजवादी फोरमका जिल्ला नेता अब्दुल रसिद खांलगायत घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले प्रहरीले गोली नचलाएको दाबी गर्नुभयो । सरकारी कार्यालय आगजनी गर्न आएको समूहलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल मात्र प्रयोग गरेको प्रजिअ खाँको भनाइ छ ।

आन्दोलनकारीले घरेलु तथा साना उद्योग कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र तथा जिन्सी सामग्री जलेर नष्ट भएको कार्यालय प्रमुख मनोजकुमार शैनीले बताउनुभएको छ ।

प्रतिक्रिया