शान्ति समिति झापाका संयोजकसहित दशजना प्रहरीको नियन्त्रणमा

इनेप्लिज २०७२ भदौ २ गते ४:४५ मा प्रकाशित

Jhapa_nepal-mapसुरुङ्गा (झापा), २ भदौ । जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट आज बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छ प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोड गर्ने १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।
गणेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुङ्गाना लगायतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रनाउ राउतले बताउनुभयो ।

मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला सङ्घर्ष समितिलगायतका दलले आह्वान गरेको बन्दका कारण पाँच दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया