‘अमेरिकन ड्रिम’ पुरा गर्ने क्रममा पानामाको जेलमा रहेका नेपाली युवाहरुसंग राष्ट्रपति भरेलाको भेट’

इनेप्लिज २०७२ भदौ २ गते २:३८ मा प्रकाशित

Panama Migrants
लस-एन्जलस, २ भदौ । सुरक्षित आर्थिक भविष्यको सपना बोकेर ‘अमेरिकन ड्रिम’ पुरा गर्न दलालहरुलाई मोटो रकम बुझाउदै जिन्दगी र मृत्युको दोसाँधमा घना जंगल र असुरक्षित सामुन्द्रिक यात्रा पछि दक्षिण अमेरिकी र सेन्ट्रल अमेरिकी राष्ट्र हुँदै संयुक्त राज्य अमेरिका छिर्ने क्रममा पानामाको सुधार गृह (जेल)मा रहेका केहि नेपाली युवाहरुसंग त्यहाँका राष्ट्रपति जुवान कार्लोस भरेलाले भेट र अन्तरक्रिया गरेका छन् ।

अनाधिकृत तवरले सेन्ट्रल अमेरिकी राष्ट्र पानामा छिरेका नेपाली युवाहरुसंग त्यहाँको स्थानिय शहर मेटेटीको सुधारगृह (जेल)मा पुगेर राष्ट्रपति जुवान कार्लोस भरेलाले भेट र अन्तरक्रिया मार्फत उनीहरुलाई सुन्ने प्रयास गरेका हुन् ।

सोमबार राष्ट्रपति भरेलाले ‘अमेरिकन ड्रिम’ पुरा गर्न दलालहरुलाई मोटो रकम बुझाउदै असुरक्षित सामुन्द्रिक यात्रा पछि दक्षिण अमेरिकी राष्ट्र र सेन्ट्रल अमेरिकी राष्ट्र हुँदै संयुक्त राज्य अमेरिका छिर्ने क्रममा पानामा आइपुग्दा त्यहाँको सुरक्षा अधिकारीको नियन्त्रणमा रहेका नेपाली युवाहरुलाई स्थानिय शहर मेटेटीको सुधार गृह (जेल)मा भेटेका थिए  ।

राष्ट्रपति भरेलासंगको भेटमा अनाधिकृत तवरले पानामाको सुधार गृहमा रहेका नेपाली युवाहरुले देशको अनिश्चित राजनीतिक भबिष्य, जर्जर पारिवारिक आर्थिक अवस्था र बेरोजगारीले गर्दा दलालहरुलाई मोटो रकम तिरेर पानामा हुँदै   संयुक्त राज्य अमेरिका छिर्ने क्रममा यतिबेला आफुहरु सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको बताएका थिए ।

पानामा सरकारले उनीहरुलाई स्वदेश फर्काउने, पानामामै स्थायी बसोबास अनुमति दिने वा उन्मुक्ति दिने यो समाचार तयार गर्दा सम्म कुनै निर्णय गरेको छैन ।

अवगत रहोस, अमेरिकन ड्रिम पुरा गर्ने अभिलाषा पुरा हुने हो वा नहुने हो तर दलाललाई मोटो रकम तिरेर नेपाल देखि अरबका विभिन्न राष्ट्रलाई ट्रान्जिट बनाउदै अमेरिका छिर्ने क्रममा रहेका असंख्य नेपाली युवाहरु यति बेला दक्षिण अमेरिकी र सेन्ट्रल अमेरिकी राष्ट्रका विभिन्न जेल र दलालको सुरक्षित सेल्टरहरुमा असुरक्षित आप्रवाशनको क्रममा भौतारी रहेका छन् ।

यसै क्रममा गत साता अगष्ट १० तारिखका दिन कोलम्बियाका अधिकारीहरुले नेपाल, क्युबा, सोमालिया र इथोपियाका ३८८ अनाधिकृत आप्रवाशीहरुलाई समुन्द्रको असुरक्षित क्षेत्रमा पक्रेको थियो ।

स्मरण रहोस बर्षौ देखि मोटो रकम लिएर नेपाल र तेस्रो विश्वका युवाहरुलाई अमेरिका पुर्याइदिने भन्दै मानव ओसार पसारमा संलग्न दलालहरुले दक्षिण अमेरिकी राष्ट्र र सेन्ट्रल अमेरिकी राष्ट्रका असुरक्षित जल र थल मार्ग हुँदै टेक्सास र एरिजोनाको सिमा मार्फत अनाधिकृत तवरले संयुक्त राज्य अमेरिका प्रवेस गराउदै आएका छन् ।

संचार माध्यमहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०१५ मा मात्रै सेन्ट्रल अमेरिकी राष्ट्र पानामाका सुरक्षा अधिकारीहरुले नेपाल र तेस्रो विश्वका करिब ११ हजार युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

यस अघि अमेरिकी विदेशमन्त्री जोन केरीले गत महिना सार्वजनिक गरेको रिपोर्टमा समेत नेपाली युवाहरु असुरक्षित आप्रवासनको जोखिममा रहेको बताउदै नेपाल सरकारले यस्ता बिषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाइएको  थियो ।

:: तस्बिर: पानामाका राष्ट्रपति जुवान कार्लोस भरेलासंग भेटको प्रतिक्षामा रहेका अनाधिकृत तवरले त्यहाँको जेलमा रहेका नेपाली युवाहरु ।

Panama Migrants

:: तस्बिर: पानामाका राष्ट्रपति जुवान कार्लोस भरेलासंगको भेटमा अनाधिकृत तवरले त्यहाँको जेलमा रहेका नेपाली युवाहरु आफ्नो उन्मुक्तिको लागि आग्रह गर्दै ।

(तस्बिर स्रोत र सौजन्य: एपी)
(तस्बिर स्रोत र सौजन्य: एपी)

प्रतिक्रिया