धरापमा परिणत हुने खतरा बढ्दै कर्णाली पुल

इनेप्लिज २०७२ भदौ १ गते ४:०६ मा प्रकाशित

कर्णाली_पुलबाजुरा, १ भदौ । बाजुरा जिल्लाको पूर्वीत्तर क्षेत्रका कर्णाली नदीपारीका गाविसलाई सदरमुकाम मार्तडीसँग जोड्ने लिपुचौर कर्णाली पुल समयमा मर्मत नहुँदा दिनानुदिन धरापमा परिणत हुने खतरा बढेको छ ।

विसं २०३४ मा निर्माण भएको झुलुङ्गे पुलको जगन्नाथ गाविससँग जोडिएको तिरको जग पूरै कटान भएको छ भने कर्णालीपारीको क्षेत्रमा समेत बर्सेनि कटान गरिरहेको वाई गाविस–८ छापुका गङ्गा गिरीले बताउनुभयो ।

यस वर्षसमेत पानीको बहाब बढेसँगै आवतजावत गर्न समस्या भएको छ । त्यस पुलको प्रयोग गरी सदरमुकाम आउने वाई, जुकोट, साप्पाटा गाविसका जनताको एकमात्र प्रवेशद्वारको पुल यसरी जीर्ण हुँदासमेत कसैको ध्यान नगएको जुकोट गाविसका स्थानीय अगुवा नरजंग शाहीको गुनासो छ ।

स्थानीय भद्धा गिरी, मनिजङ्ग शाहीलगायतको पहलमा निर्माण भएको कर्णाली पुल पुनःनिर्माण हुन नसक्दा त्यहाँका जनतालाई आवतजावत गर्नसमेत सास्ती भएको जुकोट–२ का दलबहादुर शाहीले बताउनुभयो ।

“हामी सानै थियाँै कर्णाली पुल बनाएको हो आजभोलि हामी वृद्ध भइसकेका छौँ हाम्रा पुर्खाले बनाएको कर्णाली पुल पुरानो भइसकेको छ ।” उहाँले भन्नुभयो “दिनहुँ जीर्ण बन्दै गएको छ । निर्माण कार्यका लागि भने कुनै पनि निकायले पहल गरेको छैन यो पुल नभए हामी त कर्णाली वारीका भयौँ ।”

सोमबार सदरमुकाम आएर घर फर्केका साप्पाटा–३ का सतल विकले भन्नुभयो, “केही दिनअघि पानी कम थियो आज निकै पानीको बहाव बढेकाले पुलमा जान पनि निकै समस्या भएको छ, हुम्ला कर्णाली र मुगु कर्णाली बढेर आएको छ माथिबाट ठूलाठूला रुख बगाएर ल्याउँदा सबै कर्णाली पुलमा अट्किने गर्दा पुललाई नै भार हुँदा पुलका लडाहरु चुँडिन थालेका छन् ।”

“आजभोलि पुलभन्दा माथिबाट पानी बगिरहेको छ । हामीहरुलाई आवतजावत गर्न निकै सास्ती भएको छ । हामी त जेनतेन वारपार गरी रहेका छौँ तर सानासाना बालबालिका र महिलालाई भने झनै सास्ती हुने गरेको छ ।” विकले भन्नुभयो ।

कर्णालीमा पानीको बहावसँगै नदी कटान हुन थालेपछि कर्णाली आसपासमा होटल व्यवसाय गर्दै आएका स्थानीय व्यापारी तथा सर्वसाधारण व्यापार छोडी माथिल्लो क्षेत्रतिर जान थालेको कर्णालीमा लामो समयदेखि व्यापार गर्दै आएका गोरख गिरीले बताउनुभयो ।

कर्णाली पुल दिनहुँ जीर्ण बन्दै जाँदा स्थानीयवासीलाई भने सामान्य दैनिक उपभोग्य सामान लिन कोल्टीमा आउनसमेत डराउन थालेका छन् । केही वर्ष पहिलेमात्र सामान्य तटबन्धन गरिए पनि सबै तटबन्धन बाढीले बगाएपछि पुल झनै जीर्ण बनेको पुल हेराला पाण्डव गिरीको भनाइ छ । उहाँले थप्नुभयो “यो कर्णाली पुलकाबारेमा पटकपटक जिल्लामा आवाज उठाएका छौँ तर कुनै पनि निकायले वास्ता गरेका छैनन् ।” “नेताहरु आफ्नै काम गर्न मात्र व्यस्त छन् । टुक्राटुक्री योजना मात्र बनाउँछन् ।” जगनाथ गाविसका जङ्गबहादुर विष्टले दुखेसो गर्नुभयो ।

प्रतिक्रिया