अहिले मसंग आइफोन सिक्स छ र जमाना पनि सेल्फीको छ । रिल नलाग्ने मोबाइलबाट म दिनहुँ सेल्फी फोटाहरु लिन्छु र कति फेसबुकमा हाल्छु र कति खिच्छु र डिलिट गरिदिन्छु किनकि कतिपय फोटाहरु त आफैलाई मन नपर्ने पनि आउँदो रहेछ र कतिपय त सोसल मिडियामा हाल्न पनि अफ्ट्यारो लाग्ने हुन्छन । फोटोको यो जमानाले मलाई आजभोलि दिनहु घेरेर राखेको छ । कति समय फोटो खिच्नमा बित्छ त कति समय अरुका फोटा हेर्नमा बित्छ । अहिले र फोटो प्रोफेसनललाई बाहेक खासै क्यामेरा बोकिरहनु पर्दैन । हातमा भएको मोबाइलले नै सबै काम गरिदिन्छ । कहिलेकाँही कार्यक्रम जाँदा मानिसहरु हतारहतार फोटो अपलोड गरिरहेका हुन्छन । एउटा तथ्य सार्बजनिक भएको थियो केहि समय पहिला सेक्सको आनन्द भन्दा फेसबुकमा फोटो अप्लोड गर्दा बढी आनन्द हहसुस गर्छन मानिसहरु । अहिले कथा फेरिएको छ । सायद मानिसहरुको शक्ति प्रदर्शन त सोसल मिडियामा पो देखिन थालेको छ ,नेताहरु समेत मंचमा होइन आफ्नो स्टाटसमा रमाउन थालेका छन् । अहिले त मिडियामा त क्रान्ति नै भएको छ भन्नुपर्छ होला । सेल्फिमा त युग नै फेरिएको छ होला ।सेल्फी पनि साथी ,पेट ,जोडी र नानाथारिमा इतिहास रच्दै छ । एकजना मेरो साथीले त ‘सेल्फी पुराण’ लगाईसक्नु भो फेसबुकमा ,तेस्तो धार्मिक कार्यको जयजयकार भो होला मन मनमा ।
अहिले र एस्तै कुरा गरिरहँदा म र हामीसंग फोटो र क्यामेराको छुट्टै कथा छ ,सायद नेपालको कुना र कन्दरामा जन्मेको मान्छेको लागि फोटो र रंगिन दुनियाँको स्वाद नै थाहा थिएन तेतिबेला । पहाडबाट बसाई सरेर आउँदासम्म सामान्य रेडियोको बारेमा मात्र थाहा थियो तर त्यो पनि घरमुलीको नियन्त्रणमा हुन्थ्यो । फोटो र क्यामेराको कुरा त धेरै पछि थाहा भो मलाई । म सानो छँदा फुपुहरुले दिनभरिको बाटो हिडेर साथीसंग हात मिलाएर स्टुडियोमा खिचेको फोटो देख्दा म अचम्म मानेर हेर्थे र रुन्थे ‘मलाई किन नलगेको भनेर ‘ र मलाई सम्झौथे उनीहरु म सानो थिए भनेर । ती फोटाहरु हेर्ने भने अहिले पनि यादहरु जीवन्त बनेर आउछन ।
तराईमा आएपछि पनि खासै फोटो र क्यामेराको सुबिधा थिएन तेतिबेला । केही लाउरे ,हुनेखाने र सहरबजार बसेकाले मात्रै फोटो र क्यामेरामा पहुँच राख्थे ।
एकजना गोपाल मामा क्यामेरा बोकेर आउंथे गाउँतिर अनि फोटो खिच्नेको लर्को लाग्थ्यो र त्यो फोटो हेर्ने अवसर महिनौ पछि मात्रै मिथ्यो । त्यो फोटो खिच्नेको लाइनमा हामी पनि लाग्थ्यौ तर अरुहरु पछि र पैसा लाग्छ भन्थे तर जिद्दी नै गरेपछि क्यामेराम्यान तयार हुन्थे फोटो लिन तर गोपालमामाले फ्यासमात्र लिंदा रहेछन र सबै केटाकेटीलाई झुक्याउदा रहेछन । अरुको फोटो आइसक्दा पनि हाम्रो फोटो आउदैन थियो र कहिँले फोटो आउला र हेर्न पाइएला भनेर कुरिरहन पर्थ्यो तर व्याट्रीको फ्लासले के फोटो आउथ्यो र कुर्नु मात्र नि ।
बिस्तारै केही फोटो स्टुडियो खुल्न थाले । अनि रहरमा केही फोटोहरु खिचियो अहिले केही फोटोहरु भेटिन्छन र बिस्तारै पिकनिकहरुमा क्यामेरा देखिन थाले । हामीहरु क्यामेरा देख्यो कि फोटो खिच्न अनुरोध गर्थ्यौ अनि तेस्को पैसा तिर्नुपर्ने कुरा आउंथ्यो अनि आफ्नो अभिभावकलाई मनाउनु पर्ने । हाहा तेतिखेर ठुलो मूल्य चुकाएर फोटो खिचियो । घरमा सधै भनेको काम गर्नु पर्ने ,पढ्नु पर्ने र अझ पिकनिकमा नाच्नु पर्ने सर्त आउंथे र दाइ ,दिदिहरुले पिकनिकमा सबै काम लगाउथे भाडा माझ्ने ,खान पकाउन सहयोग गर्ने ,दाउरा लिन जानुपर्ने ,पानी बोक्नुपर्ने आदि तर जस्तोसुकै सर्त पनि हामीलाई स्वीकार हुन्थ्यो तेतिबेला ।
अझ सिंगल र एक्लै फोटो खिच्नेकुरा ठुलो हुन्थ्यो । अहिले हेर्ने हो भने म संग मेरा सिंगल फोटा नै धेरै होलान मोबाइलमा र फेसबुकमा तर तेतिबेला एक्लै एक्लै फोटा खिचेर राख्नु ठुलो उपलब्धि हुने ।
हाइस्कुल,कलेज पढ्दा रिल लाग्ने क्यामेराबाट फोटो खिच्न थालियो तर सबैसंग क्यामेरा हुदैनथ्यो । स्कुलमा त बल्ल बल्ल फोटो खिच्ने र खर्चको मेसो भो तर कलेजमा त एकपटक फोटाको व्यापार गर्दा क्यामेरा नै बेच्नु पर्ने भो । फोटा खिचेर साथीहरुलाई दियो पैसा चाँही नआउने अनि माग्न पनि गारो । त्यस्तैमा व्यापार घाटामा जाने । अहिले पो जमाना फेरियो फोटो क्लिक गर्यो कि मिडियामा आउने भो पहिला त कहाँ निकाल्नु प्रिन्ट गरेर अल्बम बनाएर राख्ने गरिन्थ्यो । आज स्कुल र कलेजका केटाकेटिले त अटो भर्ने भन्दै फोटो जम्मा गर्थे । हामीहरु केटीहरुलाई अहिले त हाम्रो फोटो जम्मा गर पछि नानीको (छोराछोरीको) सिंगान पुछौला नि भन्थ्यौ । उनीहरु मरी मरी हास्थे ।
अहिले सोच्दछु मानिसलाई फोटोको नसा सानैदेखि लाग्दो रहेछ तर अहिले हात हातमा स्मार्टफोन र सोसल मिडियाको मालिक आफै भएर पनि यो फोटो खिच्ने र राख्ने नसा कहिले नजाने रहेछ । दिनहुँ फोटाहरु खिच्नु पत्रकार को काम मानिन्थ्यो र लेख्नु त लेखक ,कवि ,कथाकार र पत्रकारको काम थियो पहिला पहिला तर अहिले फोटा खिच्ने फोटोग्राफर आफै भएको छु ,आफ्नाबारे आफै लेख्छु समाचार र सेल्फी फोटाहरुको त फ्यान नै भएको छु । कता कता लाग्छ मेरो फोटा लाइफ सेल्फीमय भएको छ ।
प्रतिक्रिया