कर्णालीमा स्याउ पाक्यो, डोल्पालीलाई विस्मात !

इनेप्लिज २०७२ साउन ३२ गते ८:४८ मा प्रकाशित

रामचन्द्र न्यौपाने

news_98955apple_mustangत्रिपुराकोट (डोल्पा), ३२ साउन । कर्णालीलाई नेपालमै गुणस्तरीय एवम् स्वादिलो स्याउ उत्पादन हुने अञ्चलका रुपमा चिनिने गर्छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा हरेक वर्ष लाखौँ किलो स्याउ उत्पादन हुने गर्छ ।

तर, कर्णालीमा यातायातको राम्रो पहँुच नहुँदा प्रत्येक वर्ष लाखौँको स्याउ बोटमै कुहिने गर्छ भने बाँकी रहेको स्याउ टिपिसकेपछि बजारको अभावमा घरमै कुहिने गर्छ ।

कर्णालीमा यस वर्ष पनि साउनमै स्थानीय जातका स्याउ पाकेर लटरम्म भएका छन् । त्यसो त डोल्पालाई पनि कर्णालीको राम्रो स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिने गर्छ ।

साउन महिना सुरुवात भएलगत्तै डोल्पाका विभिन्न गाविसमा लगाइएको स्याउ बोटमै पाकेर लटरम्म भएका छन् ।

साउन महिनामै स्थानीय जातका स्याउ डोल्पाका विभिन्न ठाउँमा लटरम्म पाकेपछि त्ष्सलाई बजारसम्म लैजान सहज यातायातको पहुँच नहुँदा स्थानीय किसान चिन्तामा परेका छन् ।

हरेक वर्ष कर्णालीका जुम्ला र मुगुमा सडक सञ्जालको सुविधा भए पनि डोल्पामा यातायातको पहुँच नहुँदा हरेक वर्ष लाखौँको स्याउ बोटमै कुहिने गरेकाले डोल्पाली स्याउ किसान चिन्तामा परेका हुन् ।

डोल्पामा यातायातको सुविधाका नाममा अनिश्चित हवाई यातायात मात्र भएकाले बजारको अभावका कारण स्याउ बिक्री नभई बोटमै कुहिने गरेको सुँ गाविस रङका स्याउ किसान श्रीदल बुढाले बताउनुभयो ।

डोल्पाको त्रिपुराकोट, सुँ, जुफाल, दुनै, रह, लिकु, पहाडा, सहरतारालगायतका गाविसमा व्यावसायिक रुपमा स्याउखेती गरिए पनि खपत हुने बजारको अभावका कारण स्याउ बिक्री नभई खेतीका लागि लगानी गरिएको पैसा पनि नउठ्ने भएकाले स्थानीय किसान मर्कामा परेको उहाँले बताउनुभयो ।

यसरी डोल्पामा सडकको सुविधा नहुनुको पीडा सबै डोल्पालीमा पर्ने गरे तापनि यसको प्रत्यक्ष मारमा स्याउ किसान नै पर्ने गरेका छन् ।

डोल्पामा स्याउ उत्पादनका लागि अनुकूल हावापानी भएकाले पनि राम्रो र गुणस्तरीय स्याउ उत्पादन हुनुका साथै व्यावसायिक रुपमा पनि स्याउखेती गर्दा किसानलाई घाटा नहुने जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा सम्पति बुढाले बताउनुभयो ।

यदि डोल्पासम्म मात्र यातायातको पहुँच हुने हो भने डोल्पाली स्याउ, दाँते ओखरलगायतका फलफूल नेपालगन्ज, सुर्खेतलगायतका बजारमा लगेर बिक्री वितरण गरी राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

जिल्ला कृषि कार्यालय डोल्पाको तथ्याङ्कअनुसार हरेक वर्ष डोल्पामा रु ४० लाख बराबरको स्याउ उत्पादन गरिने भए तापनि स्थानीय बजारमा जम्मा रु चारदेखि रु पाँच लाख बराबरको मात्र स्याउ बिक्री हुने गर्छ ।

जिल्लाभर वार्षिक १० देखि १५ टनसम्म स्याउ उत्पादन हुने भए तापनि यातायातकै असुविधाका कारण जम्मा उत्पादनको पाँच प्रतिशतमात्र स्याउले बजार पाउने गरेको छ ।

यसरी वर्षैपिच्छे स्याउ बिक्री नभई फाइदाको साटो नोक्सान हुन थालेपछि डोल्पालीले छिटोभन्दा छिटो सडक विस्तारका लागि सरकारलाई माग गरेका छन् ।

यातायातको पहुँच नभएकै कारणले डोल्पामा उत्पादन गरिएको स्याउ जुफाल र रङमा रहेको दुईवटा स्याउको रक्सी बनाउने उद्योगहरुमा प्रतिकेजी रु २० मा उधारो बिक्री गर्ने बाध्यता रहेकोे रङका स्थानीयवासी सन्देश बुढाले बताउनुभएको छ ।

भरियालाई स्याउ बोकाएर चार पाँच घन्टा लगाएर बजारसम्म पु¥याउने हो भने सामानको मूल्यभन्दा भरियाको खर्च धेरै लाग्ने गरेकाले स्थानीय उत्पादनलाई बजारसम्म लिन यातायातको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

कुहिएर बाँकी रहेको स्याउ घन्टाँै हिँडेर भरिया लगाएर बिक्रीका लागि गाँउगाउँमा लगिनु डोल्पाली स्याउ किसानको बाध्यता रहेको छ ।
सरकारले डोल्पासम्म सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी सडकको पहुँच विस्तार गरे डोल्पालीलाई ठूलो राहत पुग्नुका साथै डोल्पालीको जीवनस्तर पनि माथि उकासिने निश्चित छ ।

प्रतिक्रिया