नवलपरासी बन्द आठौँ दिन पनि जारी

इनेप्लिज २०७२ साउन ३२ गते ६:०९ मा प्रकाशित

परासी, ३२ साउन । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज आठौँ दिन पनि निरन्तर जारी छ ।

अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पूर्ण बजार, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था यातायात पूर्णरुपमा बन्द भएका छन् ।

अखण्ड नवलपरासीको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका अगुवा रामभवन यादवले बताउनुभयो । प्रस्तावित प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्र्याएको भन्दै नवलपरासी दाउन्ने पश्चिम क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।

यसैबीच थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्दका कारण नवलपरासीको जनजीवन प्रभावित बन्दै गएको छ ।

नौजना बन्दकर्ता घाइते

नवलपरासीको बासाबसही चोकमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा छ जना आन्दोलनकारी घाइते भएका छन् ।

त्यसैबीच बेलासपुर चोकमा बाटो बन्द गरी बसिरहेको बन्दकर्तालाई पनि सशस्त्र प्रहरीले लाठीचार्ज गरी बाटो खुलाउन खोज्दा तीनजना बन्दकर्ता घाइते भएका छन् ।

बन्दका क्रममा तीनवटा गाडी जलाइएको छ भने प्रेस, प्रहरी र निजीलगायत करिब दुई दर्जन सवारी साधन तोडफोडसमेत भएका छन् । प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप हुँदा दुवै पक्षका गरी २० भन्दा बढी घाइते भएका छन् ।

आठ दिनदेख चलिरहेको बन्दले आज पनि उद्योग, कलकारखाना, यातायात, शैक्षिक सङ्घसंस्था, बजार ठप्प छन् ।

जिल्लामा अखण्ड नवलपरासी सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट थरुवान सङ्घर्ष समिति र वैद्य माओवादीसमेत गरी चार पक्षको फरकफरक बन्द जारी छ ।

प्रतिक्रिया