बन्दले हुनेखानेभन्दा पनि हुँदाखाने मर्कामा

इनेप्लिज २०७२ साउन ३२ गते ४:३४ मा प्रकाशित

Bandaकाठमाडौँ, ३२ साउन । प्रदेशको सीमाङ्कनलाई लिएर असन्तुष्ट नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि काठमाडौँको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले कालीमाटीमा भारतीय बीआर ०६ सी ३९८० नम्बरको बुलेरो गाडी तोडफोड गरेका छन् । प्रहरीवृत्त कालीमाटीले जनाएअनुसार मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सो गाडी तोडफोड गरेका हुन् गाडी तोडफोड गर्ने व्यक्तिको अहिले खोजी भइरहेको छ ।

बन्दकर्ताले आइतबार र आज दुई दिने बन्द आह्वान गरेका कारण आज पनि बिहानमा सञ्चालन हुने गरेका शैक्षिक संस्थाको पठनपाठन ठप्प भएको छ । बन्दले दैनिक काम गरी खानेका लागि पनि समस्यामा पारेको छ ।

नेपालगन्ज घरबारी टोल स्थायी बसोबास भई अध्ययनका क्रममा काठमाडौँ कलङ्की बस्दै आएका गणेश भण्डारीका अनुसार लगाताररुपमा गरिने यस्ता बन्दले आफ्नो उज्वल शैक्षिक भविष्यको खोजीमा लागेका लाखौँ युवालाई प्रभावित पार्ने गरेको छ ।

“दलहरुले आफ्ना घोषणापत्रमा बन्द हडताल सधैँका लागि बन्द गर्ने उल्लेख गरे पनि त्यो व्यवहारमा देखिएन,” उहाँले भन्नुभयो – “सधैँ हुने यस्ता बन्दले देशको विकास प्रभावित भएको छ, युवाको रोजाइ स्वदेशभन्दा पनि विदेश बढ्दै जानुमा यसले पनि प्रत्यक्ष प्रभाव पारेको छ ।”

भण्डारी जस्तै सैनामैना नगरपालिका–११ स्थायी बसोबास भई अध्ययनकै क्रममा हाल काठमाडौँमा बस्दै आएका धर्मराज पाण्डे बन्दले हुनेखाने भन्दा पनि हुँदाखाने वर्गलाई विशेषरुपमा प्रभावित पारेको बताउनुहुन्छ ।

दिउँसो काम गरेर बेलुका खाने वर्ग बन्दबाट धेरै मर्कामा पर्ने गरेको उहाँको भनाइ छ । “विद्यार्थी महँगो शुल्क तिरेर उपत्यकाका विभिन्न शैक्षिक संस्थामा पढ्ने गरे पनि लगातार हुने गरेका यस्ता बन्दले उनीहरुको अध्ययनलाई प्रभावित गर्ने गरेको छ,– पाण्डेले भन्नुभयो ।

“राजनीतिक दलका नेताहरु जनताको पीरमर्काभन्दा पनि आफ्नै स्वार्थमा लिप्त हुने गरेका छन् । आखिर यो बन्द देशमा समृद्धि र विकासका लागि छ त ?”– उहाँले प्रश्न गर्नुभयो ।

गोरखा घर भई काठमाडौँमा विगत दुई वर्षयता तरकारी व्यवसाय गर्दै आएका सविन देवकोटा आफूजस्ता सामान्य व्यवसाय गर्दै आएका व्यावसायीका लागि बन्दले धेरै नै समस्या पारेको धारणा राख्नुहुन्छ ।

प्रतिक्रिया