आँखा पाक्ने रोगको प्रकोप बढ्यो

इनेप्लिज २०७२ साउन ३२ गते ४:३० मा प्रकाशित

eyeगाईघाट (उदयपुर), ३२ साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत जिल्लाको पहाडी क्षेत्रमा यस पटक पनि आँखा पाक्ने रोगको प्रकोप बढ्न थालेको छ ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि अहिले दैनिक २० देखि २५ जनासम्म आँखा पाक्ने रोगका बिरामी उपचारका लागि जिल्लाको सदरमुकाम गाईघाटस्थित आँखा उपचार केन्द्रमा आउने गरेको आँखा उपचार केन्द्र गाईघाटले जनाएको छ ।

खेतीको सिजन भएको र गर्मीका कारण ‘भाइरल इन्फेक्सन’ भएका कारण पनि आँखा असुरक्षित भएर पाक्ने गरेको कारण यसको बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको केन्द्रका प्रमुख दुल्लीराज तिम्सिनाले बताउनुभयो ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि यसका उपचारका लागि औषधि प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखामा दैनिक पानी छ्याप्नु पर्ने जस्ता नियमित उपचार गर्न बिरामीलाई सल्लाह र सुझाव दिने गरेको उपचार केन्द्रका प्रमुख तिम्सिनाले उल्लेख गर्नु भयो ।

गत वर्ष पनि साउन भदौ महिनाको सिजनमा त्रियुगा नगरपालिका क्षेत्रलगायत उदयपुरमा आँखा पाक्ने रोग व्यापक फैलिएको थियो ।

त्यसैगरी साउने खाँबु तथा आँपटार क्षेत्रमा एक हप्ता यतादेखि आँखा पाक्ने रोग व्यापक फैलन थालेको खाँबु–४ का विष्णु खत्रीले बताउनुभयो।

त्रियुगा नगरपालिका–८ बगाहा तथा वडा नम्बर–११ का क्षेत्रमा पनि डेढ हप्तायता गाउँमा व्यापक आँखा पाक्ने रोगले सताउन थालेको बगाहाका स्थानीय भवानीदास चौधरीले बताउनुभयो ।

प्रतिक्रिया