स्थानीय तह बलियो भएमात्र मुलुक बलियो हुन्छ: उपप्रधानमन्त्री सिंह

इनेप्लिज २०७२ साउन ३१ गते १५:१२ मा प्रकाशित

Rss_Images_1439731006791_AR-KTM-DPM Singhकाठमाडौँ, ३१ साउन । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय तहलाई बलियो बनाउन सकेमात्र मुलुक बलियो हुने बताउनुभएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मध्यमाञ्चल विकास क्षेत्रको वार्षिक प्रगति २०७१÷०७२ समीक्षा कार्यक्रमको आज समापन समारोहमा बोल्दै स्थानीय तहलाई बलियो बनाउन वर्तमान नीतिलाई परिमार्जन गर्नपरे आफू छलफल गर्न तयार रहेको बताउनुभयो ।

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा यसको असर जनतामा नै परेको छ, यस्तो परिस्थितिलाई ध्यान दिई स्थानीय निकायमा कार्यरत कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई निर्वाह गर्न मन्त्री सिंहले निर्देशन दिनुभयो । उहाँले काम लिएर कार्यालयमा आएका जनताका काम तुरुन्त गर्न नहुने रहेछ भने यो कारणले हुँदैन भन्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका निमित्त सचिव रेश्मीराज पाण्डेले स्थानीय तहमा परेको समस्याका बारेमा मन्त्रालयबाट गर्नुपर्ने कामबारे आफू गर्न तयार रहेको बताउनुभयो ।

मन्त्रालयका अनुगमन महाशाखा प्रमुख गोकर्णमणि दवाडीले स्थानीय निकायमा अनुगमन प्रणालीलाई कडा रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारीद्वय काठमाडौँका तीर्थ भट्टराई र चितवनका भरतमणि पाण्डेले नयाँ नगरपालिकामा कर्मचारी दरबन्दी नहुँदा काम प्रभावकारी हुन नसकेको गुनासो गर्दै नयाँ नगरपालिकामा सडक बत्ती, सडक विस्तार, नपा भवन बनाउन जग्गाको व्यवस्थापन, नगर प्रहरीको व्यवस्था, नगर सवारी साधनको समस्या परेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले स्थानीय निकायमा राम्रो काम गरेको भन्दै सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी महेश बराल, दोलखाका स्थानीय विकास अधिकारी रेशम कँडेल, सिन्धुलीका स्थानीय विकास अधिकारी प्रदिप निरौला, स्थानीय शासन तथा सामुदायिक कार्यक्रमका प्रबन्धक पुरुषोत्तम नेपाललाई सम्मान गर्नुभएको थियो ।

समीक्षा बैठकमा सो विकास क्षेत्रका १९ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी, ६८ नगरपालिकाका कार्यकारी अधिकृत तथा मन्त्रालयका उच्चपदस्थ अधिकृतको सहभागिता रहेको थियो । सो बैठक तीन दिनसम्म चलेको थियो ।

प्रतिक्रिया