लहान, ३१ साउन । संविधानमा संवैधानिक मुस्लिम आयोगको व्यवस्था गर्नुपर्ने मागसहित जिल्लाका मुस्लिम समुदायले आज लहानमा प्रदर्शन गरेका छन् ।
संयुक्त मुस्लिम सङ्घर्ष समिति सिरहाको अगुवाइमा लहानको नयाँ बजारबाट निस्केको जुलुसले विभिन्न नारासहित नगर परिक्रममा गरेको थियो ।
नगर परिक्रममापश्चात् लहानको सहिद चोकमा आयोजित कोणसभामा बोल्दै मुस्लिम समुदायका अगुवाले संविधानको प्रारम्भिक मस्यौदामा मुस्लिमको हक कटौती गरिएकाले सच्याउन माग गरेका छन् ।
सभामा मुस्लिम सङ्घर्ष समितिका संयोजक मो हनिफ राइनले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा संवैधानिक मुस्लिम आयोगलगायतका व्यवस्था छुटेको भन्दै सच्याउन माग गर्नुभयो ।
सभामा मुस्लिम समुदायका अगुवा खालिद सिद्धिकी, मोलाना मोहम्दसाकिर, अब्दुल ओदोह, जाकिर राइनलगायतले राज्यको हरेक अङ्गमा मुस्लिम समुदायको समानुपातिक समावेशीको सुनिश्चितको संवैधानिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त मुस्लिम सङ्घर्ष समितिले प्रत्येक मुस्लिमलाई प्रचलित कानुनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने अधिकार दिनुपर्ने, संविधानमा धर्मनिरपेक्षतालाई कायम राख्नुपर्ने, आफ्नो आस्थामा आधारित धार्मिक शिक्षा लिने र दिनेसम्बन्धी हक र आफ्नो मातृभाषामा शिक्षा, सूचना–सञ्चारसम्बन्धी हक हुने संवैधानिक व्यवस्था गर्नुपर्नेलगायतका मागसहित आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया