सिद्धार्थ गौतम जन्मस्थलमा विशेष सुरक्षा

इनेप्लिज २०७२ साउन ३१ गते ४:३६ मा प्रकाशित

downloadबुटवल, ३१ साउन । पवित्र र शान्त तीर्थस्थल सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीको समग्र सुरक्षाका लागि विशेष अभियान सुरु भएको छ ।

लुम्बिनीमा बाहिरी र आन्तरिक दुवै खालको सुरक्षा र बेथिति नियन्त्रणका लागि विभिन्न किसिमका सुरक्षा व्यवस्थासहित सुरक्षाकर्मी परिचालन भएका छन् । खासगरी मायादेवी मन्दिर परिसरको पवित्र उद्यान क्षेत्रको विशेष सुरक्षामा चौबीसै घन्टा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

लुम्बिनीमा जापानबाट शान्ति स्तुप बनाउन आएका जापानी भिक्षु नावातामेको सन् १९९७ मा लुम्बिनीभित्रै हत्या गरियो । त्यसैगरी दुई वर्षअघि सन् २०१३ मा भारतको बोधगयामा आतङ्ककारी हमला भएपछि बुद्धजन्मस्थल लुम्बिनीसहित नेपाल–भारतका बुद्धसँग सम्बन्धित क्षेत्रमा प्रशासनले सुरक्षा सतर्कता बढाएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, दङ्गा नियन्त्रण प्रहरी गण, लुम्बिनी विकास कोषकै चौकीदार, ‘ग्रुपफोर’ सेक्युरिटी कम्पनीसमेत गरी अहिले सयौँ सुरक्षाकर्मी लुम्बिनीको सुरक्षामा परिचालित छन् ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले केही दिनअघि लुम्बिनीको भ्रमण गरी मायादेवी मन्दिरको सुरक्षाका लागि नयाँ सुरक्षा योजना लागू गरिएको बताउनुभयो ।

विश्वसम्पदा सूचीमा रहेको र विश्वकै आस्थाको केन्द्रका रुपमा विकास भएको शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी र त्यसमा पनि मुख्य केन्द्र मायादेवी मन्दिरको सबै खाले सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा पनि मन्त्री शेर्पाले जोड दिनुभएको थियो ।

मायादेवी मन्दिरभित्र रहेको जन्मस्मारक शिला, अशोक स्तम्भ नजिक राखिएका दानबाकसमा सङ्कलित दान रकम र पुरातात्विक वस्तुको सुरक्षामा विशेष व्यवस्था मिलाइएको उहाँको भनाइ थियो । त्यस्तै मन्दिरभित्र प्रवेश गर्नेलाई सिसी क्यामराको निगरानीमा पनि राखिएको छ ।

लुम्बिनीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सबै निकायसँग आवश्यक समन्वय गरिएको कोषको कार्यवाहक उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताउनुभयो ।

लुम्बिनीमा विशेषगरी मायादेवी मन्दिर क्षेत्र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । मायादेवी मन्दिरको सुरक्षार्थ २४ सै घन्टा सशस्त्र प्रहरीलाई खटाइएको छ । सशस्त्र प्रहरीले मन्दिरभित्र रहेका पुरातात्विक महत्वका वस्तुका साथै मन्दिरमा चढाइएका भेटीको समेत सुरक्षा गर्नेछ ।

मन्दिरको चारैतिर विशेष कमान्ड पोस्ट निर्माण गरी सुरक्षा व्यवस्था अझ व्यवस्थित योजनाका साथ अगाडि बढाउन लागिएको सशस्त्र प्रहरी बल लुम्बिनीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत कोइराला बताउनुहुन्छ । मन्दिरमा चढाइएका भेटी र पुरातात्विक महत्वका वस्तु हराएको गुनासा बढेपछि निगरानीसहित सुरक्षामा थप कडाइ गरिएको उहाँका भनाइ छ ।

भेटीको दुरुपयोग भएको र त्यसमा कोषभित्रैका केही पदाधिकारीदेखि कर्मचारीसम्मका मिलेमतो हुने गरेको गुनासो आएपछि केही समयअघि बसेको कोषको बैठकले मन्दिरभित्रको विशेष सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको थियो । सोही आधारमा सशस्त्र, नेपाल प्रहरी र कोष मातहतका चौकीदारलाई बाहिरी घेरा हुँदै विभिन्न द्वार र पवित्र उद्यानभित्र खटाइएको हो ।

कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन भिक्षु निग्रोधको अध्यक्षतामा बसेको बैठकले मन्दिरको भित्री भागमा सुरक्षा व्यवस्थापन गर्ने निर्णय गरेपछि सशस्त्र प्रहरीको विशेष टोलीले भेटीसहित अन्य दानका सामग्रीमा विशेष निगरानी सुरु गरेको छ ।

पुरातात्विक महत्वका वस्तु रहेको स्थानमा प्रवेश गर्नेलाई जाँच गरेर मात्र आउजाउको व्यवस्था मिलाइएको छ । मन्दिरका दुई प्रवेशद्वारमा महिला र पुरुष सुरक्षाकर्मी खटाइएको छ । उनीहरु बिहान मन्दिर खुलेदेखि बन्द नहुँदासम्म खटिएका हुन्छन् भने मन्दिर बन्द भएपछि पनि उनीहरुको निगरानी कायमै हुन्छ ।

पवित्र उद्यानको विशेष सुरक्षामा सशस्त्र प्रहरीका १५ जना तैनाथ छन् । लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरीका १००, नेपाल प्रहरीका ८०, दङ्गा नियन्त्रण गणका ६० जना सहित आन्तरिक चौकीदार करिब ६० जना परिचालित छन् । यस्तै पाँच पर्यटक प्रहरी पनि त्यहाँँ खटिएका छन् ।

प्रतिक्रिया