काठमाडौँ, ३१ साउन । साहसिक पर्वतारोहण र पदयात्रा क्षेत्रमा काम गर्ने आरोही तथा कामदारको हितलाई ध्यानमा राखी मुलुकमै पहिलो पटक उपग्रह अस्पताल स्थापना गरिने भएको छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आरोही, कामदार र उनीहरुको परिवारलाई स्वास्थ्योपचारको प्रत्याभूत दिलाउने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको हो । केन्द्रीय ‘हब’ काठमाडौँमा रहने सो अस्पताल मुख्य हिमाल र विश्व चर्चित पदमार्गमा राखिनेछ । विशेषज्ञ टोली सम्बन्धित ठाउँमा राखिने र केन्द्रबाटै विशेषज्ञले प्रत्यक्ष बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ ।
सगरमाथालगायत हिमाल र चर्चित खुम्बु, अन्नपूर्ण, मनास्लु, लाङटाङलगायत पदमार्गमा उच्च जोखिमका साथ काम गर्ने आरोही तथा भरिया, कामदारको भलाइका लागि अस्पताल बनाउने योजना अघि सारिएको संस्थाले जनाएको छ ।
विश्व चर्चित आरोहण र पदयात्रामा काम गर्ने आरोही, कामदार तथा उनीहरुको परिवारलाई स्वास्थ्योपचारमा सहयोग पु¥याउने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पा बताउनुहुन्छ ।
“नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीको आफ्नै अस्पताल छ, तर विश्वलाई परिचित गराउने साहसिक आरोही र पदयात्रीका लागि अस्पताल छैन, त्यसलै आरोही, पदयात्री र उनीहरुको परिवारलाई ध्यानमा राखी स्याटालाइट हस्पिटल स्थापना गर्न लागेका हौँ,”– रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।
शेर्पाका अनुसार अस्पतालको सुरुआती चरणमा नुवाकोटको ककनीमा सरकारले भोगाधिकार दिएको एक सय ४४ रोपनी क्षेत्रफलको जग्गामा करिब रु ५५ करोडको लागतमा दुई सय श्ययाको अस्पताल बनाइने योजना छ । सोका लागि सरकार र विदेशी निकायहरुको सहयोगको प्रतिबद्धता आएको र सरकारी स्वीकृति लिएर अर्को वर्षदेखि निर्माण सुरु गरिने संस्थाले जनाएको छ ।
खासगरी चर्चित पदयात्रा लाङटाङको क्यान्जिन गुम्बा, मनास्लुको सामागाउँ, अन्नपूर्णको मुक्तिनाथ र मुख्य हिमालमा अस्पतालका शाखा स्थापना गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । क्रमशः अन्य हिमाली क्षेत्रमा समेत अस्पताल विस्तार गरिनेछ ।
यसअघि खुम्बु क्षेत्र (सगरमाथा) का विभिन्न स्थानमा अस्पताल स्थापना भइसकेका छन् । हिमालय उद्धार सङ्घले खुम्बु क्षेत्रको फेरिचे र मनाङमा तथा नाम्चेमाथितिरको क्षेत्रमा हिमालय ट्रस्ट हिलारी फाउन्डेसनले अस्पताल सञ्चालन गरेको छ ।
आरोहण र पदयात्रा क्षेत्रमा काम गर्ने कामदार खासगरी हृदयाघात, पक्षाघात, क्षयरोग, उचाइ बिरामी पर्ने र कार्य क्षेत्रमा विभिन्न दुर्घटनामा परी अकालमा ज्यान गुमाउने गरेका छन् ।
एनएमएको एक प्रारम्भिक अध्ययनअनुसार विशेषतः लाङटाङ, मनास्लु र अन्नपूर्णको मुक्तिनाथ क्षेत्रमा पदयात्रामा जाने भरिया कामदार र आरोहीमा लेक लाग्ने समस्या देखिने गरेको छ, त्यस्ता बिरामीमध्ये एक याममा पाँचदेखि छ सयसम्म उद्धार गरेर ल्याइने गरेको छ । अन्य समस्याका बिरामी पनि उत्तिकै हुन्छन् ।
प्रतिक्रिया