‘धर्मस्थली बाल उद्यान’ निर्माण

इनेप्लिज २०७२ साउन ३१ गते १:२५ मा प्रकाशित

पोखरा, ३१ साउन । जनसङ्ख्याको अधिक चापका कारण खुल्ला जमिन खुम्चिँदै गएको अवस्थामा पोखरा–५ पस्र्याङ्कका बासिन्दाले सार्वजनिक जग्गामा ‘धर्मस्थली बाल उद्यान’ निर्माण गरेका छन् ।

वन तथा भूसंरक्षण मन्त्रालयले सञ्चालन गरेको ‘एक नगर अनेक उद्यान’ कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालय कास्कीको रु नौ लाख ५० हजार र रु एक लाख ३८ हजार ८५३ बराबरको स्थानीय जनश्रम परिचालन गरी सो उद्यान बनाइएको हो ।

धर्मस्थली निमाविका विद्यार्थीले खेल मैदानका रुपमा प्रयोग गर्दै आएको भए पनि अलपत्र अवस्थामा रहेको चार रोपनी दुई आना जग्गामा पर्खाल लगाई उद्यानका रुपमा विकास गरिन लागिएको हो ।

क्षेत्रीय वन निर्देशक शान्तमणि ताम्राकारले चिनियाँ समी जातको वृक्ष रोपेर सो बाल उद्यानको शनिबार उद्घाटन गर्दै उद्यानको संरक्षण र उपयोगमा स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा बाल उद्यानको हातामा अशोक, कपुर, चाँप, कल्की, धुपी, पहारीजातलगायत विभिन्न जातका ८५ विरुवा रोपिएको थियो । सो स्थानमा पोखरा उपमहानगरपालिकाको रु छ लाख ७३ हजारको आर्थिक सहयोगमा सार्वजनिक शौचालयसमेत निर्माण गरिने बताइएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका भरतराज पौडेल, नेकपा (एमाले)का विष्णुप्रसाद बराल र एकीकृत नेकपा (माओवादी)का नारायणविक्रम शाहीले स्थानीय विकास निर्माणमा सङ्गठित भएर लाग्ने सामूहिक प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया