चितवनमा बन्द गराउन खोज्नेलाई प्रहरीले हटायो केहीबेर अवरुद्ध सडक बलप्रयोग गरी खुलाइयो, दुई पक्राउ

इनेप्लिज २०७२ साउन ३० गते १५:३८ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), ३० साउन । थारू कल्याणकारिणी सभा चितवनले विभिन्न माग राखेर सुरु गरेको बन्दको सामान्य प्रभाव आज चितवनको पूर्वी क्षेत्रमा देखिएको छ । यद्यपि प्रहरीले बल प्रयोग गरेर नै बन्द खुलाएको छ ।

चितवनको रत्ननगर र पर्सा खैरहनी क्षेत्रमा थारूको बसोबास बढी भएकाले सो क्षेत्रमा केही प्रभाव देखिएको हो । बन्दकर्तालाई हटाएर अहिले यातायात सञ्चालन गरिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । पुल्चोक र टाँडीका बन्दकर्तालाई सम्झाइबुझाइ गरिएको भए पनि अटेर गरेकाले सामान्य बल प्रयोग गरेर बन्द खुलाइएको उहाँले बताउनुभयो ।

रत्ननगरमा गाडीको चाबी खोसेर जलाइदिन्छु भन्दै धम्की दिएको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार वकिलराज राउत र रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यता आन्दोलनको नेतृत्व गर्नुभएका थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महतोले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको आरोप लगाउनुभयो । चितवनको भरतपुर तथा नारायणगढ क्षेत्रमा बन्दको प्रभाव खासै नदेखिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि शुक्रबार बन्द आह्वान गरिएको भए पनि चितवनमा प्रभाव परेको थिएन । चितवनदेखि पश्चिम नवलपरासीलगायत जिल्ला भने विगत केही दिनदेखि नै पूर्ण प्रभावित छ । यही २७ गतेदेखि थारूसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले थरुहट क्षेत्र बन्द गरी आन्दोलन गर्दै आएका थिए । चितवनमा आज भएको बन्दमा आदिवासी जनजातिले समेत समर्थन जनाएको बताएका छन् ।

यसअघि थारू कल्याणकारिणी सभा केन्द्रीय समिति, थारू सभासद् सङ्घर्ष समिति र थारूहट संयुक्त सङ्घर्ष समितिले थारूहट क्षेत्रमा आन्दोलन गर्दै आएका छन् । थारू कल्याणकारिणी सभाले चितवनलाई प्रादेशिक राजधानी बनाउन माग गरेको छ ।

तीन प्रदेश हिमाल पहाड हुनुपर्ने र तीन प्रदेश पूर्वदेखि पश्चिम क्षेत्र जोडेर हुनुपर्ने भन्ने केन्द्रीय मागमा समेत आफूहरुको समर्थन रहेको सभाका अध्यक्ष विश्राम महत्तोले बताउनुभयो ।

प्रतिक्रिया