मालढुङ्गा–बेनी सडक अवरुद्ध, दुई घर पहिरोमा पुरियो

इनेप्लिज २०७२ साउन ३० गते १५:२२ मा प्रकाशित

फलेवास (पर्वत), ३० साउन । भूकम्पका कारण चिरा परेको पहाड खसेर सुख्खा पहिरो जाँदा पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ नुवारको डिलबाट दिउँसो झरेको सुख्खा पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्बासीको बस्ती जोखिममा परेको हो ।

पहिरोले दुई घर पुरेको छ, भने मालढुङ्गा–बेनी सडकसमेत अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रु मालढुङ्गामा नै अलपत्र परेका छन् ।

नुवारको डिलमा भूकम्पका कारण चिरा परेको जमिनबाट सुख्खा पहिरो खसेपछि मालढुङ्गामा कालीगण्डकी नदी किनारको सुकुम्बासी बस्तीमा पुगेको छ । पहिरोले सुकुम्बासी बस्तीका हरिबहादुर माझी र बलबहादुर माझीको घर पुगेको छ ।

पहिरो अहिले पनि निरन्तर झरिरहेको कारण थप समस्या भएको स्थानियबासीले बताएका छन् । अहिले पहिरो गएपछि मालढुङ्गाको माझी बस्तीमा बस्दै आएका स्थानीय लत्ताकपडा र सामान बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

यही साउन ३ गते पनि सोही ठाउँमा पहिरो खसेपछि ६३ घर सुकुम्बासी परिवार जोखिम मोलेर बस्दै आएका थिए । कालीगण्डकी नदी किनारमा बालुवा चालेर तथा बङ्गुर पालेर जीविकोपार्जन गर्दै आएका सुकुम्बासी परिवार घरबारविहीन बन्न पुगेको स्थानीय सुकलाल परियारले बताउनुभयो ।

“हाम्रो आफ्नो जमिन छैन, यही नदी किनारको जमिन पनि पहिरोले पुरिएपछि घरबारविहीन भएका छौँ, जाने ठाउँ पनि छैन, खाने थाल पनि छैन” उहाँले भन्नुभयो । अझै चिरिएको जमिन बाँकी रहेकाले जुनसुकै बेला अझै ठूलो पहिरो जान सक्ने र बस्ती सबै पुरिने सम्भावना रहेको छ ।

कालीगण्डकी नदी किनारमा पहिरो गएपछि बस्ती स्थानान्तरण गर्ने र मानवीय क्षति हुन नदिनेतर्फ प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । अहिले अवरुद्ध सडक खुलाउन सडक विभाग बागलुङबाट डोजर झिकाएर काम भइरहेको उहाँको भनाइ छ ।

“पहिले मानवीय क्षति नहोस् भन्नेतर्फ सचेत भएर उद्धारको काम गरेका छौँ, त्यसपछि सुकुम्बासी परिवारको पुनःस्थापना गर्नेछौँ”–प्रजिअ तिवारीले भन्नुभयो ।

प्रतिक्रिया