चिराइतो खेतीप्रति कृषक आकर्षित

इनेप्लिज २०७२ साउन ३० गते ११:१३ मा प्रकाशित

kuai1खोटाङ, ३० साउन । जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् ।

घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका बारेमा जानकारी पाएपछि चिराइतो खेती गर्ने कृषकको सङ्ख्या जिल्लामा ह्वात्तै बढेको हो ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेका, खार्मी, फेदी, खार्ताम्छा, बाकाचोल, ऐसेलुखर्क, माक्पालगायतका कृषक यतिखेर चिराइतोको खेती गर्न व्यस्त छन् । मेरुङ कृषि सहकारी संस्था र मेरुङ समाज नेपालको पहलमा पाथेका र फेदीको लेकाली भेगका कृषकले व्यावसायिक रुपमै चिराइतो खेती सुरु गरेका छन् ।

जडीबुटीका रुपमा प्रयोग हुने चिराइतो खेतीको सम्भाव्यता अध्ययनपछि सामूहिक रुपमा खेती गर्न थालिएको मेरुङ समाज नेपालका अध्यक्ष बम बानियाँले बताउनुभयो । “लेकाली क्षेत्रमा पर्ने बाँझो जग्गालाई उपयोग गर्दै कृषकको जीवनस्तर उकास्ने उद्देश्यले व्यावसायिक रुपमै चिराइतो खेती सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “जङ्गली जनावरले दुःख नदिने भएकाले पनि चिराइतो खेती सुरु गरेका हौँ ।”

जिल्लामा उत्पादित चिराइतो धनकुटा, धरान, विराटनगर, भारतलगायतका ठाउँमा निर्यात हुने गरेको छ । सम्बन्धित बिक्री केन्द्रमा पु¥याउँदा राम्रो मूल्य पाउने भएपछि लेकाली क्षेत्रका कृषक यसप्रति आकर्षित भएको अध्यक्ष बानियाँको भनाइ छ ।

प्रतिक्रिया