उत्कृष्ट सवारी चालक पुरस्कारबाट खवास पुरस्कृत

इनेप्लिज २०७२ साउन २९ गते १:४८ मा प्रकाशित

लहान, २९ साउन । सुरक्षित रुपमा सवारी चलाई दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याएको भन्दै सगरमाथा यातायात व्यवसायी सङ्घले मोरङको हरैचा निवासी उदयलाल खवासलाई पुरस्कृत गरेको छ ।

सगरमाथा अञ्चल यातायात व्यवसायी सङ्घ र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले संयुक्त रुपमा हिजो यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख तथा प्रहरी उपरीक्षक नरबहादुर केसीले सवारी चालक खवासलाई पुरस्कार प्रदान गर्नुभयो ।

सगरमाथा अञ्चलभरिका सवारी चालकबाट उत्कृष्ट छानिएका सवारी चालकलाई प्रदान गर्ने उक्त पुरस्कारको राशि रु पाँच हजार एक नगद र कदरपत्र रहेको छ । ‘सेफ ड्राइभर अफ द मन्थ’ नाम दिएको उक्त पुरस्कार वितरण २०७१ सालदेखि कोसी अञ्चल यातायात व्यवसायी सङ्घबाट सुरु गरेको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक केसीले सम्मानबाट प्रहरी र चालकबीचको सम्बन्ध सुमधुर बनाइराख्न तथा दुर्घटना न्यूनीकरण गर्न अन्य सवारी चालकलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

ट्राफिक प्रहरी र सवारी चालकबीचको सम्बन्ध सुमधुर बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा यातायात व्यवसायी सङ्घले सुरक्षित सवारी चालकलाई पुरस्कृत गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया