आपत्कालीन पोषण कार्यक्रमबाट बालबालिका, सुत्केरी तथा गर्भवती लाभान्वित

इनेप्लिज २०७२ साउन २८ गते १:४० मा प्रकाशित

धादिङ, २८ साउन । भूकम्पपछि धादिङमा सञ्चालित आपत्कालीन पोषण कार्यक्रमबाट २६ हजार ८०७ बालबालिका र पाँच हजार ७५० सुत्केरी तथा गर्भवती लाभान्वित भएका छन् ।

विपद्को समयमा महिला तथा बालबालिका नै बढी प्रभावित हुने भएकाले विश्व स्वास्थ्य सङ्गठनको लक्षित कार्यक्रमअन्तर्गत युनिसेफ, युएमएन र एनट्यागले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा धादिङको ४६ गाविस र एक नगरपालिकामा सञ्चालित पोषण कार्यक्रमबाट बालबालिका, सुत्केरी तथा गर्भवती लाभान्वित भएका हुन् ।

छदेखि ५९ महिनाभित्रको ३० हजार ४०६ बालबालिका रहेकामा २७ हजार ९८१ बालबालिकाको र सात हजार १८७ सुत्केरी तथा गर्भवतीको जाँच गर्दा २३ हजार ८०७ बालबालिकामा र पाँच हजार ७५० महिलामा कुपोषणको समस्या रहेकाले उनीहरुलाई जुकाको औषधि, भिटामिन र आइरन चक्की तथा पौष्टिक आहार वितरण गरिएको बताइएको छ ।

एक हजार ७७ बालबालिकामा मध्यमखाले कुपोषण र ९७ बालबालिकामा कडा कुपोषण देखिएकामा ६६ बालबालिका स्वास्थ्य संस्थाको सम्पर्कमा आए पनि अरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको प्रतिवेदन समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय युनिसेफ, युएमएन र एनट्यागले धादिङबेसीमा आयोजना गरेको समीक्षा कार्यक्रममा स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा, स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक गिरिराज सुवेदी, पूर्वसचिव आत्माराम पाण्डे, नेपाल पोषण प्रतिष्ठानका अध्यक्ष डा उमा कोइरालालगायतले पोषण कार्यक्रम प्रभावकारी भएको भन्दै कुपोषण भएकाका लागि छुट्टै नियमित कार्यक्रमको आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया