पहिरोले सडक अवरुद्ध

इनेप्लिज २०७२ साउन २७ गते १२:२५ मा प्रकाशित

चौतारा, २७ साउन । गएरातिको अविरल वर्षाले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी बजार नजिक गएको पहिरोले आज बिहानैदेखि दुवैतर्फको यातायात ठप्प बनेको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दोलखा, रामेछाप र बाह्रबिसेबाट काठमाडौँ जाने र फर्कने सबै यात्रु बस आज बिहानैदेखि बीच बाटोमै रोकिएका छन् ।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको र बेलुकीसम्म एकतर्फी रुपमा भएपनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

अविरल वर्षाले विभिन्न ठाँउमा गएको पहिरोको कारण बलेफी–जलवीरे सडकखण्ड दुई दिनदेखि अवरुद्ध रहँदा करिब एक दर्जन गाविसका बासिन्दालाई काठामाडौँ जान र आउन समस्या भएको बताइएको छ ।

त्यसैगरी, आज बिहान माङ्खा गाविस–३ स्थित तारे भिरमा ठूलो पहिरो गएकाले ४/५ वटा अस्थायी टहरा पुरिएर करिब १५ वटा चौपाया मरेका छन् । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया