चौबीस घन्टे सुत्केरी सेवाले बाल मातृ मृत्युदर शून्य

इनेप्लिज २०७२ साउन २७ गते ४:१४ मा प्रकाशित

downloadकञ्चनपुर, २७ साउन । कञ्चनपुरको पिपलाडीमा रहेको स्वास्थ्य चौकीले २४ घन्टे सुत्केरी सेवा सुरु गरेपछि बाल मातृ मृत्युदर शून्यमा झरेको छ ।

स्वास्थ्य चौकीमै सुत्केरी हुनेको सङ्ख्या शतप्रतिशत पुगेपछि बाल मातृ मृत्युदर शून्यमा झरेको हो । अज्ञानका कारण विगतमा घरमै जोखिम मोलेर प्रसूति हुने महिलाको अत्यधिक रक्तस्रावका कारण ज्यान जाने गरेको थियो । स्वास्थ्य चौकीका प्रमुख चेतराज भट्टले भन्नुभयो, “नवजात शिशुको समेत स्याहार गर्न नसक्दा मृत्यु हुन्थ्यो । स्वास्थ्य चौकीमै तालिम प्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुनुपर्छ भन्ने भावना विकसित भएकाले आमा र शिशुको मृत्यु दर शून्यमा पुगेको हो ।”

प्रमुख भट्टका अनुसार स्वास्थ्य चौकीमा २४ घन्टे प्रसूति सेवा सुरु भएको सात वर्षको अवधिमा सुत्केरी हुने आमा र नवजात शिशुको मृत्यु भएको छैन । आव ०६४/६५ देखि हालसम्म स्वास्थ्य चौकीमा एक हजार २८३ जनाले सुरक्षित तरिकाले सुत्केरी गराएका छन् ।

दलित समुदायका १६ प्रतिशत, जनजाति समुदायका ३५ प्रतिशत र ब्राह्मण क्षेत्रीका ४४ प्रतिशतले सुत्केरी सेवा लिएका छन् । आव ०७१÷७२ मा मात्रै स्वास्थ्य चौकीबाट १८३ जनाले सुत्केरी सेवा लिएका छन् ।

स्वास्थ्य चौकीमै नियमित गर्भ जाँच र सुत्केरी गराएमा प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्थाले समेत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढ्दै गएको स्वास्थ्य चौकीका अहेव माधव जोशीले बताउनुभयो । “गर्भवतीको अवस्था, प्रस्रव अवस्थाको स्याहार, सुत्केरीको स्याहार, नवजात शिशुको स्याहार, पोषणयुक्त खानेकुरालगायतमा ध्यान दिनुपर्छ भन्ने जानकारीे महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले उपलब्ध गराउन थालेपछि गर्भवती महिलाका परिवारसमेत सचेत बन्दै गएका छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया