तीन सयलाई असल ग्राहक परिचयपत्र

इनेप्लिज २०७२ साउन २६ गते १:३४ मा प्रकाशित

agriculture-bankइलाम, २६ साउन । कृषि विकास बैंक जिल्ला शाखा इलामले बैंकको नीतिअनुसार नियमित किस्ता र ब्याज बुझाउने ३०० ग्राहकलाई असल ग्राहक परिचयपत्र प्रदान गरेको छ ।

नियमितरूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले गत आव २०७१/०७२ मा असल ग्राहक परिचयपत्र वितरण गरेको हो । अघिल्लो वर्ष ४० जनाले सो परिचयपत्र पाएका थिए ।

इलाम नगरपालिकासहित २१ वटा गाविसमा आफ्नो कार्यक्षेत्र रहेको यस बैंकका ९६० ग्राहकमध्ये अहिलेसम्ममा ७०० जनाभन्दा बढीलाई असल ग्राहक परिचयपत्र वितरण गरिसकेको बैंकका प्रबन्धक गिरिराज नेपालले बताउनुभयो ।

असल ग्राहक परिचयपत्र पाएकालाई बैंकले एक प्रतिशत ब्याजदर छुट दिएको छ । परिचयपत्र प्राप्त ग्राहकको सिफारिसमा अन्य ग्राहकलाई ऋण दिन सहज हुने बैंकले जनाएको छ । परिचयपत्र पाएका ग्राहकलाई बैंकले सहुलियतमा ऋण प्रदान गर्दै आएको छ ।

दुई वर्षसम्म मासिक रूपमा ब्याज, किस्ता भुक्तानी गर्ने ऋणीलाई बैंकले असल ऋणीको रूपमा असल परिचयपत्र वितरण गर्दै आएको छ ।

प्रतिक्रिया