आठवटा सहकारी संस्थाको दर्ता खारेज

इनेप्लिज २०७२ साउन २५ गते १०:१५ मा प्रकाशित

जनकपुरधाम, २५ साउन । डिभिजन सहकारी कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार सञ्चालनमा नरहेका आठवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

आव २०७०÷७१ मा दर्ता खारेज भएका सहकारी संस्थाहरुमा महोत्तरीमा पाँच, सिन्धुलीमा दुई र धनुषामा एक रहेका छन् । विगत दुई वर्षदेखि साधारणसभा र लेखा परीक्षण नगरेका ती सहकारीको दर्ता खारेज गरिएको कार्यालयका नासु रामपृत यादवले बताउनुभयो ।

दर्ता खारेज गरिएका संस्थाहरुमा जनकपुर उपमहानगरपालिका– १० मा रहेको आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महोत्तरी माईस्थान– ५ को पारिजात कृषि सहकारी संस्था, महोत्तरी सुन्दरपुरमा रहेको मङ्गलनाथ दूध उत्पादन सहकारी संस्था, महोत्तरी खेरबन्नी– ३ को कन्तवा दूध उत्पादक संस्था रहेका छन् ।

यसैगरी महोत्तरीको मनौटा– ६ को बनौटा दूध उत्पादन संस्था सहकारी, महोत्तरीकै खुट्टा पिपररीमा रहेको शक्ति कृषि सहकारी संस्था तथा सिन्धुलीको कल्पवृक्ष गाविस– ३ र ४ मा रहेको तुलसी वावरी जडीबुटी सहकारी संस्था तथा फूलकुमारी जडीबुटी सहकारीको समेत दर्ता खारेज गरिएको छ ।

दर्ता खारेज गरिएका ती संस्थाले सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ विपरीत काम गरेका कारणले उनीहरुको दर्ता खारेज गरिएको हो । धनुषा, महोत्तरी र सिन्धुलीमा रहेका कतिपय सहकारी संस्थाले सुपथ मूल्य पसलको नाउँमा सरकारी अनुदानको रकम लगेर पसल सञ्चालन नभएको गुनासो आएपछि कार्यालयले अनुगमन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया